चितवनः चितवन राष्ट्रिय निकुञ्ज हुँदै वग्ने राप्ती नदीको विगत दश वर्षदेखि सरसफाई गरिंदै आएको छ । अभियान्ताहरुले स्वतस्फूर्त रुपमा नदी र आसपासका क्षेत्रमा मुख्य रुपमा प्लास्टिकजन्य वस्तु संकलन गर्ने गर्दै आएका हुन् ।

राप्ती सरसफाई अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार बि.सं. २०७२ साल माघ २३ गतेबाट हरेक हप्ताको शनिबार बिहान ८ बजे यो अभियान गर्ने गरिएको छ । नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीस्थित गोलाघाटसम्म सरसफाई गरिंदै आएको छ ।

नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरुलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताउनुभयो । स्थानीय जनतालाई सहभागी गराएर ५० देखि एक सय जनासम्म प्रत्येक हप्ता सहभागी हुने गरेका छन् । ५० जना हाराहारी नियमित अभियानमा जुट्ने अभियान्ता रहेको उहाँले जानकारी दिनुभयो ।

हालसम्म पाँच सय पटक २२ हजार स्वयंसेवकले सरसफाई अभियानमा सहभागी भईसकेका छन् । नदीको विभिन्न ठाउँमा पुगेर सोही ठाउँका स्थानीयवासी, जनप्रतिनिधिहरुलाई सहभागी गराएर सरसफाई गरिंदै आएको घिमिरेले बताउनुभयो ।

हालसम्म अभियानमा वन मन्त्री, पर्यटन मन्त्री, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरु सहभागी भईसक्नु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना पनि अभियानमा सहभागी हुने गरेका छन् ।

दिवस परेका बेला दाताहरुसँग ग्लोब्स, डस्बिन, कुचो, बोरा, डोको, मास्क जुटाउने गरिएको भए पनि अन्य समयमा आफै सरसफाई सामग्री लिएर अभियान सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । नदी र आसपासका क्षेत्रमा छरिएका प्लास्टिक वन्यजन्तुले घाँससँगै खाने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्दछ भने तियारी जाल जस्ता वस्तुहरुमा परेर कतिपय वन्यजन्तु र जलचर मर्ने समेत गरेका छन् ।

अभियानका क्रममा प्लास्टिक संकलन र व्यवस्थापनसँगै स्थानीयलाई संरक्षण शिक्षा दिईदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस !