चितवनः जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलब ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो ।
मौरी पालन बिकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिकटन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिकटन मह उत्पादन भएको थियो । जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिदैं आईएको छ । यस वर्ष बेमौसमी वर्षातका कारण मह उत्पादनमा कमी आएको हो । उहाँले भन्नुभयो “बेमौसमी वर्षातका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ ।” तोरीमा एक पटकमा ३ चोटी सम्म मह काड्ने किसानले यस पटक वढीमा २ पटक मह काटेको उहाँले बताउनुभयो । यस्तै चिउरीमा ५ पटक सम्म मह काटिन्थ्यो भने यस पटक ३ पटक मात्र काटेका छन् । अहिले घारको संख्या बढे पनि उत्पादनमा कमी आएको उहाँले जानकारी दिनुभयो ।
गत वर्षमा मौरीपालक किसान मध्ये ७० प्रतिशतले ६ पटक सम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र ६ पटक मह निकालेका छन् । जिल्लामा ४५० जना व्यवसायीक मौरीपालक किसान रहेका छन् । जिल्लामा बिशेष गरी चिउरी र तोरीको मह ८० प्रतिशत उत्पादन हुँदै आएको छ । २० प्रतिशत मह रुदिलो, फापर, पड्के, लिचि लगाएतबाट उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।






