चितवनः पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह परिक्षणका क्रममानै प्राबिधिक समस्या आए पछि नियमित संञ्चालनमा ल्याउन सकिएको छैन । गएको असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरीे शबगृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
महानगरपालिकाका विपद शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परिक्षणका क्रममा सहज रुपमा शव दहन नभएपछि समस्या उत्पन्न भएको हो । कतिपय शव एक घण्टामा दहन भएको थियो भने कतिपय ८÷९ घण्टामा पनि दहन हुन सकेको थिएन । लामो समय सम्म शवगृहमा राख्दा समेत नपोलिए पछि त्यहाँ आएका मलामिले आक्रोश व्यक्त गर्दै तोडफोड समेत गरेका थिए । यस संगै वन्द भएर मर्मत सम्भार थालिएको शवगृह संञ्चालनमा आएको छैन ।
महानगरपालिकाले १६ जना स्विपरलाई तालिम दिएको थियो । उनीहरुले तालिम लिएको भएपनि प्रभावकारी हुन नसकेको थपलिया बताउनुहुन्छ । उपकरण चलाउन प्राबिधिक जनशक्तिनै आबश्यक पर्ने र त्यस्तो जनशक्ति पाउन कठिन भएको उहाँ बताउनुहुन्छ । शवदाह गृह जडान गरेका निर्माण कम्पनीले मर्मत गरिएको पत्र महानगरलाई प्राप्त भएको भएको भन्दै उहाँले अब कसरी संञ्चालन गर्ने भन्ने बिषयमा छलफल भईरहेको बताउनुभयो । जनशक्तिको अभाव हुने, २४ सैं घण्टा जनशक्ति राखेर उपकरण तताउँदा खर्चिलो हुने, धुवाँ स्थानिय बस्तिमा जाँदा गुनासो वढेको लगाएतका कारण बृहत छलफल गरेर मात्र निर्णय लिने पक्षमा महानगरपालिका रहेको छ ।
महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले वोलपत्र आव्हान गरेर शवदाहको जिम्मेवारी दिन लागिएको बताउनुभयो । महानगरपालिकाले जारी गरेको बोलपत्र पछि एउटा नीजि फर्मले प्रस्ताव पेस गरेको भन्दै उहाँले कुनै संस्थाले जिम्मेवारी स्विकारेमा सहज हुने भएकाले सोही अनुसार त्यस्तो संस्थाको खोजि भईरहेको बताउनुभयो ।
निर्माण थालिएको सात वर्ष पछि विद्युतीय शवदाह गृह संञ्चालनमा ल्याईएको हो । वि. सं. २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको थियो । गृहमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।
शहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । देवघाटमा चितवन, नवलपरासी, तनहुँ सहित देशका बिभिन्न जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौति हुँदै आएको छ । सहज रुपमा शवदाह स्थल संञ्चालन हुन सकेमा दाउराको समस्या र बर्षातमा शवदाह गर्न हुने समस्या समाधान हुने छ । यसले बेबारीसे शवको अन्त्येस्टिका लागि पनि सहयोग पुग्ने छ ।






