चितवनः आन्तरिक राजश्व कार्यालय भरतपुरका करदातहरु मध्ये तीन हजार एक सय करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्त भित्र आए विवरण बुझाई सक्नु पर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन ।
कार्यालयका सूचना अधिकारी बिमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिना भित्र आय विवरण बुझाउनु पर्ने व्यवस्थाा छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भएपनि अहिलेसम्म उनीहरुले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाईएको पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो “पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९ सय करदाताले विवरण बुझाएका छन् ।” यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाहरुलाई भेट्ने र आय विवरण बुझाउन सम्झाउने गरेका छन् ।
विवरण नबुझाउँदा शुल्क र व्याज करदाताले तिर्नुपर्ने हुँदा व्याजबाट जोगिन करदाताहरुलाई उहाँले आग्रह गर्नुभयो । यस कार्यालयमा रहेका ७२ हजार ५६२ करदाता रहेका छन् । समयमा आय विवरण बुझाएर समयमानै आफ्नो कर दाखिला गर्न उहाँले अनुरोध गर्नुभयो । आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचार प्रसार, पम्प्लेट बितरण, माइकिङ्ग, संकलन भ्रमण र स्थानीय तहसँग समन्वय लगाएतका कामहरु गरिरहेको उहाँले बताउनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको हालसम्म लक्ष्यको ९० दशमलब ३८ प्रतिशत कर संलकन गरेको छ । उहाँका अनुसार चैत मसान्तसम्मको रु.१६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार राजस्व संकलन गरेको छ । चैत मसान्तसम्म राजश्व बिभागले रु १८ अर्ब ३४ करोड ६९ लाख १० हजार राजश्व संकलनको लक्ष्य दिएको थियो ।
संकलित राजश्व मध्ये आयकर तर्फ रु २ अर्ब ९४ लाख ४१ हजार, बहाल कर रु ३ करोड ११ लाख ९४ हजार, व्याजकर रु ९ करोड ३१ लाख ९३ हजार राजश्व संकलन भएको छ । मूल्य अभिबृद्धि कर तर्फ रु १ अर्ब ४८ करोड ६३ लाख ५३ हजार, अन्तशुल्क रु १२ अर्ब ९४ करोड ४१ लाख ४३ हजार, स्वास्थ्य सेवा कर रु १ करोड ३४ लाख ३४ हजार, शिक्षा सेवा शुल्क रु ५ हजार र अन्यमा रु ५५ लाख ३४ हजार राजश्व संकलन भएको पौडेलले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको सोही समयमा कार्यालयले रु १३ अर्ब ९३ करोड, ८३ लाख १० हजार राजश्व संकलन गरेको थियो । सो समयमा बिभागले रु १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार लक्ष्य तोकेको थियो । बिभागले तोकेको लक्ष्यको ७० दशमलब ०५ प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो ।






