चितवन, १२ कात्तिक । भरतपुर अस्पतालले अनलाईन टिकट शुरु गरेको छ । अस्पतालले ओपिडी (बहिरंग) टिकटलाई अनलाईन गराएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाईल एप्लिकेशन वा भरतपुर अस्पतालको वेभसाईडमा गएर टिकट लिन सकिने व्यवस्था गरिएको छ । यो व्यवस्था यही कात्तिक १४ गते आईतबारबाट शुरु गर्न लागिएको पौडेलले जानकारी दिनुभयो । अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले टिकट लिन अत्याधिक भिड भएपछि अनलाईन टिकट शुरु गरिएको बताउनुभयो । उहाँले यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सबैको हातहातमा स्माट मोबाईल छ । दुई/तीन सय जनाले अनलाईन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।” अनलाईन टिकट शुरु गरेसँग टिकट काट्न लाईनमा बस्ने भिड कम हुने अपेक्षा गरिएको छ । अस्पतालले ओपिडिमा अत्याधिक भिड भएपछि गत असोज १८ गतेबाट जीओपिडी सेवा शुरु गरेको छ । बिहान ८ः३० बजेबाट दिउँसो ३ बजेसम्म जनरल ओपिडि (फ्याम्लि मेडिसिन) सेवा सञ्चालन हुँदै आएको हो । बिहान ८ बजेदेखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेबाट जिओपिडी परीक्षण गरिन्छ । यी दुवै सेवा सञ्चालन भएसँग टिकट काट्न र ओपिडि परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !