काठमाण्डौं। सेयर बजारले आज अर्को कीर्तिमान कायम गरेको छ। सेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो । खरिदबिक्री रकम रु१७ अर्ब भन्दा बढी पुगेको छ । कारोबार भोल्यूम निरन्तर उच्च हुनुले बजारमा आम लगानीकर्ताको निकै आकर्षण रहेको छ। नेप्से सूचक पनि दोहोरो अंकले वृद्धि भएको छ । विकास बैंक तथा फाइनान्स समूहमा विशेष तेजी देखिएको छ ।

वाणिज्य बैंक समूह पनि सकारात्मक भएको छ । स्वदेश तथा विदेशबाट सेयर बजारमा लगानीकर्ता आकर्षित भइरहेका छन् । अनलाइन प्रणालीका कारण खरिदबिक्रीमा यो सम्भब भएको हो । देशभरका मात्र नभई विदेशमा रहेका नेपालीले समेत सजिलै सेयर खरिदबिक्री गरी ब्रोकरलाई पैसा पठाउन सक्ने सुविधा उपलब्ध हुँदा इतिहास रचेको हो।

प्रविधिमा भएको यही विकास र विस्तारको फाइदा आम लगानीकर्ताले पाएका छन् । खरिदबिक्री रकममा अत्याधिक वृद्धि हुनुमा प्रविधिलाई एउटा प्रमुख कारणका रुपमा लिन सकिन्छ । अझै पनि प्रविधिमा थुप्रै समस्या रहेका छन् । यसलाई सुधार गर्नुपर्ने टड्कारो आवश्यकता पनि उत्तिकै रहेको छ । बजेटपछि बजार कता जाला भन्ने सर्वत्र चासो रहेको थियो । किन भने बजेटमा पुँजीगत लाभकरबारे दुई वटा व्यवस्था गरिएको छ ।

बजेटले अल्पकालीन र दीर्घकालीन गरी लगानीकर्तालाई दुई भागमा विभाजन गरेको छ । सोही अनुसार लाभकर पनि फरकफरक गरिएको छ । यो व्यवस्था साउनदेखि लागू हुनेछ । यस सम्बन्धमा लगानीकर्ताहरुको फरकफरक बुझाई र धारणा रहेकाले बजारलाई कुन सेन्टिमेन्टले जित्ने हो भन्ने आमचासो बनेको थियो । तर आम लगानीकर्ताको यो चासो र चिन्तालाई बजारले सकारात्मक गतिमा रुपान्तरित गरिदिएको छ ।

हाम्रो बजार समग्रमा बुल रन(उकालो)मा रहेको छ । दिनहुँ नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरिरहेका छन् । सहज तरलता, सस्तो ब्याजदर अनि लगानीका अन्य क्षेत्र संकुचित भएकाले पनि सर्वसाधारण सेयर बजारतर्फै आकर्षित भएका हुन् । बजार बढ्दा होस् वा घट्दा आम लगानीकर्ताले जहिले पनि सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नुपर्छ ।

सम्बद्ध कम्पनीको नाफा, लाभांश वितरण क्षमता, ब्यवसाय विस्तारको सम्भावना लगायतका महत्वपूर्ण पक्षलाई ख्याल गर्न कहिल्यै पनि बिर्सिनु हुँदैन । आफूले खोजेको मुनाफा प्रतिशत, जोखिम बहन क्षमता र लगानी गर्न सक्ने समय अवधिका बारेमा पनि अग्रीम योजना बनाउन सके अझ बढी उपयोगी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस !