चितवनः जिल्लाका बिभिन्न अस्पतालमा पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई जना र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
बैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ वजे मृत्यु भएको हो ।
चितवन मेडीकल कलेजमा उपचाररत तनहुँका ४१ बर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का उनी वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा आज बिहान १ः४२ वजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ८ का ५९ वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बुधबार राती १०ः२६ वजे मृत्यु भएको हो ।
पुरानो मेडीकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ३ का ४८ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बुधबार राती १०ः१० वजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचारका क्रममा कपिलवस्तुका सङ्क्रमितको मृत्यु भएको छ । शिबराज नगरपालिका वडा नम्बर ९ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई बैशाख २७ गते अस्पतालमा भर्ना भएका उनमा २६ गते कोरोना संङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बुधबार राती ९ः४५ वजे मृत्यु भएको हो ।
मृतक सबैको शब व्यवस्थापनका लागि नेपाली सेना संग समन्वय भईरहेको छ।






