चितवनः चितवन राष्ट्रिय निकुञ्जले गैंडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक सोही मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरि अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा धादिङ्का ४५ वर्षिय राजकुमार श्रेष्ठ भनिने कबिराज श्रेष्ठ रहेका छन् । उनलाई यही वैशाख २३ गते चितवनको कबिलासबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतले रु २ लाख ५० हजार धरौटीमा छाडेको उहाँले बताउनुभयो ।
यस अघि विभिन्न समयमा पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्बजनिक गरेको थियो । सार्बजनिक गरिएका मध्ये २० जना चालु आर्थिक वर्षमा चार गैंडामारेको अभियोग लागेको छ । वैशाख २३ गते पक्राउ परेका श्रेष्ठ लाई पनि सोही अभियोग लागेको हो । अन्य तीन जना अघिल्ला आर्थिक वर्षका मुद्धामा फरार रहेका अभियुक्त रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मारिएका गैंडाका मुद्धामा सम्लङ्न २१ जना मध्ये अदालतले ७ जनालाई धरौटि माग गरेको थियो भने अन्यलाई पुर्पक्षका लागि अदालत पठाएको थियो ।
पुराना मुद्धामा फरार रहेका तीन जनालाई पनि फैसला कार्यान्वयनका लागि अदालतबाट कारागार पठाइएको उहाँले बताउनुभयो ।
निकुञ्जमा चालु आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा र चोरी शिकारीले ४ वटा गैंडा मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !