बाँके, : कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ ।

जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । आकस्मिक कक्षसमेत कोरोना सङ्क्रमित बिरामीले भरिएपछि अन्य बिरामीको भर्ना लिने कार्य अस्पतालले बन्द गरेको छ ।

पचास शैय्याको सो अस्पतालमा उपचारका लागि आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बुधबारदेखि बिरामी भर्नामा रोक लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय उपाध्यायले बताउनुभयो । उहाँका अनुसार गर्भवती, रगत अभाव भएका र आकस्मिकबाहेकका बिरामीको भर्नामा रोक लगाएको छ ।

ओपीडी सेवा पनि अस्पतालको मूल गेटमा दिन थालिएको छ . चिकित्सकले टाढैबाट ज्वरो मापन गरी बिरामीको उपचार गरिराखेका छन् । अस्पतालको ओपीडी सेवा लिनका लागि दैनिक करिब तीन सय बिरामी आउने गरेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस !