चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीचोकमा ट्रिपरमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलपुरबाट चौबिसकोठी तर्फ आउँदै गरेको ना ७ ख ५९८८ नम्बरको ट्रिपरमा सोही दिशाबाट आइरहेको ना ५० प ९८४८ नम्बरको मोटरसाईकल ठक्कर खाएको थियो ।
ट्रिपरको पछाडीपट्टि मोटरसाइकल ठक्कर खाँदा भोजपुरको ट्याम्केमैयुम गाउपालिका वडा नम्बर ३ घर भई चितवनको आइल्याण्ड जंगल रिसोर्टमा काम गर्ने १९ वर्षिय नियामाओहाङ राईको मृत्यु भएको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना शनिवार राती १० वजे भएको हो भने राईको मृत्यु राती १०ः४५ वजे भएको हो । ठक्कर खाने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।






