चितवनः अबिरल वर्षापछि आएको बाढी पहिरोमा परी जिल्लामा एक जना बेत्ता भएका छन । बेपत्ता हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ११ का अन्दाजी ३० वर्षिय राजु वोटे रहेका छन् । बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई आज साँझ ६ः१० बजेको समयमा नदीले बगाएपछि खोजी कार्य जारी रहेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार त्रिशुली नदी बढेर ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा तीन घर बगेका छन् । त्यहाँ कुनै मानवीय क्षति भने नभएको उहाँले जानकारी दिनुभयो ।

नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिका वडा नं. २६ र १६ मा डुवान भएको छ । उहाँका अनुसार वडा नं. २६ का ३० घरका र १६ का १४ घरका वासिन्दालाई स्थानान्तरण गरिएको छ । नदीको वहाव बढ्दै गएकाले सतर्क रहन स्थानीय प्रशासनले आव्हान गरेको छ ।

नारायणी नदी किनारमा अनाथालय हाम्रो घरको आँगनसम्म पानीको बहाव आईपुगेको छ । पानी बढेमा त्यहाँ रहेका ३० जना आश्रितलाई अन्यत्र सारिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताउनुभयो ।

नारायणी नदीको सतह सतर्कताको सूचीभन्दा माथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस !