चितवनः कोरोना भाईरस कोभिड १९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको संख्या न्यून रहेको भरतपुर अस्पतालमा यस हप्ता सुरु भए संगै बिरामीको संख्या वढ्दै गएको छ । अस्पतालले बहिरंग सेवाको टिकट काट्ने समय वढाए संगै बिरामीको संख्या वढ्दै गएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गएको आईतबार अस्पतालको वहिरंग सेवामा ३ सय ८९ जना उपचारका लागि आएका थिए । त्यस्तै आकस्मिक सेवामा ८२ जना रहेका थिए । अस्पतालमा आईतबार बिरामीको संख्या वढि हुने गर्दछ । मंगलबार वहिरंग सेवामा ३ सय १५ जना र आकस्मिकमा १ सय ११ जना उपचारका लागि आएका थिए ।
लकडाउन संगै बिरामीको संख्या निकै घटेको थियो । चैतको २६ गते वहिरंग सेवामा ३१ जना र आकस्मिक सेवामा १ सय ४० जनाले उपचार लिएका थिए । अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि वढेको छ । अस्पतालले यही आईतबारबाट वहिरंग सेवाको टिकट काट्ने समय बिहान ९ वजेबाट १२ वजे सम्म बनाएको छ । यस अघिको भन्दा समय दोव्वर बढेको हो ।
अस्पतालको प्रसुती सेवामा बिरामीको चाप निकै वढेको छ । बिभागका प्रमुख डा. शुनिलमणी पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा वच्चा जन्माएका छन् । पूर्ण लकडाउनको समयमा यो संख्या १५ हाराहारी सम्ममा झरेको उहाँले जानकारी दिनुभयो । गर्भवती हुनेहरु मध्ये ३० देखि ४० प्रतिशतको शल्यक्रिया गरेर बच्चा निकाल्ने गरिन्छ । पोख्रेलले अस्पतालमा कोरोनाको डर मान्नु पर्ने अबस्था नरहेको वताउँदै सुरक्षित ढङ्गबाट बच्चा जन्माउने काम भईरहेकाले महंगो शुल्क तिरेर नीजिमा जानु पर्ने अबस्था छैन भन्नुभयोे । बालसंघन उपचार कक्ष समेत भएकाले अस्पतालमा बच्चा जन्माउनेको संख्या वढ्दो रहेको छ ।
पोख्रेलले गत वर्ष भरीमा १३ हजार ५ सय गर्भवतीले अस्पतालमा बच्चा जन्माएको भन्दै यस वर्षको जेठ मसान्त सम्ममा १२ हजार ३ सय जनाले बच्चा जन्माई सकेको बताउनुभयो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले कोरोनाका बिरामी छुट्टै ठाउँमा अलग बाटो जाने गरि राखिएकाले अन्य बिरामीलाई कुनै समस्या नरहेको बताउनुभयो । अस्पतालमा बहिरंग टिकट लिने समय वढेको र सरकारी अस्पताल सुरक्षित छ भन्ने सन्देश सबैमा पुगेका कारण बिरामीको संख्या वढ्दै गएको बताउनुभयो ।
अस्पताल .बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जिल्लामा सबै भन्दा सुरक्षित अस्पताल भरतपुर अस्पताल भएको भन्दै उपचारका लागि आउने बिरामीलाई कुनै जोखिम नरहेको बताउनुभयो । अहिले सबै तिर जोखिम छ उहाँले भन्नुभयो “अस्पताल आउनै पर्ने बिरामीका लागि सबै भन्दा सुरक्षित भरतपुर अस्पतालमानै छ ।” बिश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगाएतको निर्देशिका पूर्ण पालना गरेर उपचार हुने भएकाले सरकारी अस्पताल सुरक्षित रहेको उहाँको दाबि छ । नीजिको तुलनामा सरकारीमा निकै न्यून शुल्कमा उपचार हुन्छ । सुत्केरी लगाएतका कतिपय सेवामा अस्पतालमा पौसा लाग्दैन ।

प्रतिक्रिया दिनुहोस !