चितवनः भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसुती गराउन भरतपुर अस्पताल ल्याउन सहज होस भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती वोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्भवती महिलालाई प्रसुती गराउन आउन सहज होस भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आर्थिक अभावमा अस्पताल सम्म पुग्न असहज नहोस भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौ ।” दाहाल प्रमुख भए पछि पहिलो निर्णय भरतपुर अस्पतालको वहिरंग सेवामा उपचार गर्न आउने महिला र जेष्ठ नागरिकलाई निशुल्क टिकट व्यवस्था गर्नु भएको थियो ।

आउँदो वर्षबाट सबैखाले अपाङ्गको टिकट समेतको भूक्तानी महानगरले गर्ने भएको छ । प्रमुख भए लगत्तै आँफु भरतपुर अस्पतालको स्तर बृद्धिमा लागि परेको भन्दै उहाँले केन्द्रिय स्तरको भए संगै यस क्षेत्रका जनताले थप सुबिधा पाउने बताउनुभयो । गत वर्ष महानगरपालिकाले भरतपुर अस्पतालको अगाडीको भागमा मोज्याक बिच्छ्याउन आर्थिक सहयोग गरेको थियो । दाहालले थप्नुभयो “चितवन सहितका १९ जिल्लाका बिरामीको उपचार गर्ने यस अस्पतालको बिकासका लागि जस्तो सुकै सहयोग गर्न महानगर तयार छ ।” प्रसुती गृह पछि सबैभन्दा वढि प्रसुती गराउने अस्पतालको रुपमा परिचित यस अस्पतालमा वर्षमा १४ हजार हाराहारी गर्भवतीले बच्चा जन्माउँछन् ।

अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले महानगरपालिकाले बिभिन्न काममा अस्पताललाई सहयोग गर्दै आएको भन्दै थप एक एम्बुलेन्स अस्पतालले खरिद गर्ने वताउनुभयो । महानगरले दिएको एम्बुलेन्समा गर्भबती मात्र बोक्ने र अर्कोमा अन्य बिरामी बोक्ने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले महानगर प्रमुख अस्पतालको बिकास समितिमा समेत हुने भएकाले अस्पताललाई आबश्यक पर्दा सहयोग माग्ने ठाउँ महानगर बनेको बताउनुभयो ।

महानगरले अस्पतालमा संकलन भएका वेबारिसे शव व्यवस्थापनमा पनि सहयोग गर्दै आएको तिवारीको भनाई छ । महानगरमा प्रमुख र उपप्रमुख दुबै जना महिला भएकाले उहाँहरुको ध्यान महिलाहरुको उपचारमा वढि केन्द्रित हुने गरेको छ । प्रसुती उपचारमा भरतपुर अस्पताल उत्कृष्ट भएको भन्दै तिवारीले एम्बुलेन्स आए पछि बिरामीलाई थप लाभ पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !