चितवनः भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालको मर्मत गरि तयारी अबस्थामा राखिने भएको छ । स्नान गर्ने ठाउँबाट पानी वाहिर गए पछि त्यहाँका संक्रमितलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार सो क्षेत्रमा निर्मली करणको काम आईतबार सम्पन्न भएको छ । आजै प्राबिधिक समूहले निरिक्षण गरि आबश्यक मर्मत सम्भार गरिने उहाँले जानकारी दिनुभयो । मर्मत सम्भारका लागि आबश्यक सहयोग गर्न भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति तयार रहेको जनाएका छन् ।

धेरै खर्च लागेमा स्थानीय तह संग समन्वय गर्न सकीने भए पनि न्यून खर्चका लागि भरतपुर अस्पतालले बेहोरेर मर्मत सम्भार गर्ने तयारी गरेको छ । सो अस्पतालको पाँच कोठा मध्ये एउटा कोठामा बाहिर पानी आएको हो । एउटा कोठामा १० वटा शैया राखिएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बिरामी थप भएमा राख्नका लागि कोरोना अस्पताल तयारी अबस्थामा राखिने बताउनुभयो । सो अस्पतालमा देखिएका समस्या समाधान गरेर तयारी अबस्थामा राखिने छ । सरकारले कोरोना संक्रमितहरुको उपचारको पहिलो तह भरतपुर कोरोना अस्पताललाई तोकेको छ । दोस्रो भरतपुर अस्पताल हो भने तेस्रो शिक्षण अस्पताल काठमाडौं हो ।

तिवारीले लक्ष्यण नदेखिएका संक्रमितलाई कोरोना अस्पताल राख्न सकिने बताउनुभयो । हाल भरतपुर अस्पतालको आईसोलेसनमा २७ जना संक्रमित रहेका छन् । अस्पतालको आईसोलेसनमा ७५ जना अट्ने क्षमता रहेको छ । त्यस मध्ये १० शैया सघन उपचार कक्ष हो ।

भरतपुर महानगरपालिकाको अगुवाईमा भरतपुर कोरोना अस्पताल स्थापना गरि संञ्चालनका लागि बैशाख १ गते भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो । भरतपुर अस्पतालमा संक्रमित सारिएको भए पनि उनीहरुलाई छुट्टै प्रबेशद्धार, बाटो र एक तल्ला सिल गरेर सुरक्षित ढङ्गले राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !