चितवनः जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग बनाएको हो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नती, मर्मत सम्हार लगायतका काम सडक विभाग अन्तर्गत आउने छ । सडक विभागले बजेट विनियोजन गरी बहुवर्षिय योजना मार्फत् सडकको काम गर्न यसले सहज बनाउने भएको छ ।

उहाँका अनुसार सो सडकको सबै क्षेत्रमा कम्तीमा सात मिटर फराकिलो कालोपत्रे हुनेछ । आगामी वर्षका लागि समेत रु. ३ करोड बजेट विनियोजन भएको शर्माले जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीका अनुसार सो सडक ३५ किलोमिटर लामो रहेको छ । हाल सडक अन्तर्गत ४२ मिटर फराकिलो छ । विगतका वर्षहरुमा पटक पटक सडक भत्किएर स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । यससँगै आगामी वर्षहरुमा ती समस्याबाट स्थानीय मुक्त भएको उहाँले जानकारी दिनुभयो ।

सो सडकको पूरै भाग भरतपुर महानगरपालिकाभित्र पर्दछ । महानगरको सबैभन्दा लामो सडक यही हो । महानगर प्रमुख रेनु दाहालले महानगर र चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै पत्र मन्त्रालयमा पठाएर सडकलाई वैकल्पिक सहायक राजमार्गमा रुपान्तरण गरि दिन आग्रह गरिएको बताउनुभयो । दाहालले अब उक्त सडकको लागि महानगरले लगानी गर्न नपर्ने बताउनुभयो ।

पश्चिम चितवनका जनताका लागि महत्वपूर्ण यस सडकले पर्यटकीय क्षेत्रलाई राजमार्गसँग जोड्ने भएकाले यसको महत्व धेरै भएको दाहालको भनाई छ । सडकका कारण सदरमुकाम आवतजावतमा नै समस्या हुने गरेको भन्दै उहाँले आफ्नो आग्रहलाई मन्त्रालय र विभागले स्वीकारेको बताउनुभयो । जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य मेघौली भएको भन्दै उहाँले त्यस क्षेत्रको विकासमा पनि यस सडकको भूमिका उल्लेखनीय रहने बताउनुभयो ।

सडकको अन्तिम विन्दु गोलाघाट राप्ती र नारायणी नदीको मिलनबिन्दु हो । जहाँ सूर्यास्तसँगै वन्यजन्तुको विचरण हेर्न पर्यटकहरु पुग्ने गर्दछन् । सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको समिपमा छ । यसले पश्चिम चितवनको कृषि उत्पादनलाई बजारीकरण गर्न पनि सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस !