चितवन, असार १३ –
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फरक पार्टी भएकाले कतिपय निर्णयहरूमा छलफल हुनु सामान्य कुरा भएको बताउनुभएको छ ।
आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले कांग्रेस र एमाले दुई भिन्न पार्टी भएकाले निर्णयहरूमा सामान्य असमझदारी हुनु ठूलो विषय नबनाउन आग्रह गर्नुभयो ।
आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सन्दर्भमा उहाँले भन्नुभयो, “एउटा सामान्य कुरा थियो ‘टेक एन्ड पे’, त्यो हटाएपछि त भइहाल्यो नि, ठूलो कुरा थिएन ।” उहाँका अनुसार कांग्रेसको आग्रहपछि सरकारले बजेटबाट विद्युत् खरिद सम्झौता अन्तर्गतको ‘टेक एन्ड पे’ व्यवस्था हटाएको हो ।
नेपाली कांग्रेसको महाधिवेशन कहिले हुन्छ भन्ने प्रश्नमा सभापति देउवाले कांग्रेसको विधानअनुसार नै समयमा महाधिवेशन हुने स्पष्ट पार्नुभयो । त्यसैगरी, भिजिट भिसा प्रकरणमा गृहमन्त्री दोषी नरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “कहाँबाट गृहमन्त्री दोषी हुन्छन् र? यो त झुटा आरोप हो ।”
सभापति देउवा, शशांक कोइराला, विमलेन्द्र निधि, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत नेताहरू आज नेपाली कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन आउनुभएको हो।

प्रतिक्रिया दिनुहोस !