चितवनः डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षका लागि १ लाख ९३ हजार ४१० बिरुवा बितरण गर्ने तयारी गरेको छ । कार्यालय परिषरमा रहेको नर्सरीमा उत्पादीत ती बिरुवा आजबाट बितरण गर्न थालिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ती समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काईएको हो । जसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफुल तथा वहुउपयोगी बिरुवा, बहु बर्षिय बिरुवाहरु रहेका छन् । आपूर्ती समितिबाट १ लाख २० हजार, डिभिजन वन कार्यालय तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय मार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डाले घाँस, फलफुल तथा वहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुबर्षिय उत्पादन गरि हुर्काएर बितरणका लागि तयारी गरिएको हो ।
यहाँबाट डालेघाँस, ठूला रुख जन्य बिरुवा र वहुउपयोगी बिरुवाहरु उत्पादन हुँदै आएको छ । वहुबर्षिय बिरुवाहरु सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछ । सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरुवा प्रयोग हुने गरेको छ । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उहाँले भन्नुभयो “आज देखि बिरुवा बितरण सुरु गरिएको ।”
कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवाहरु बितरण गर्न लागेको हो । जसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, वेल, तेजपत्ता, चाप, निवुवा, अम्बा, वडहर, टाँकी, कोइराला लगाएतका बिरुवा रहेको पौडेलले बताउनुभयो ।






