रत्ननगर, १४ असार — रत्ननगरमा एआई प्रविधिको प्रयोग गरी गरिएको निःशुल्क छातीको एक्स–रे परीक्षणबाट ४ जनामा क्षयरोग (पिसिडी) को शंका देखिएको छ ।

रत्ननगर–११, जिरौनास्थित नगर स्वास्थ्य केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा कुल २६१ जनाको छातीको एक्स–रे गरिएको थियो । परीक्षणमा शंकास्पद देखिएका ७ महिलासहित १७ जनाको खकार संकलन गरि थप पुष्टि परीक्षणका लागि बकुलहर रत्ननगर अस्पतालमा ‘जिन एक्सपर्ट’ विधिबाट पठाइएको स्वास्थ्य केन्द्रका इन्चार्ज दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।

रत्ननगर–११ की वडासदस्य यशोदा अधिकारी पौडेलले क्षयरोगको सम्भावना भएमा ढिलाइ नगरी परीक्षण गर्न सबैलाई आग्रह गर्दै भन्नुभयो, “रोग लाग्न नदिन सचेत हुनु जरुरी छ, लागेमा समयमै उपचार गरिए निको हुन हुन्छ ।“

स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले क्षयरोग कुनै लाजको कुरा नभएको र यसको उपचार ६ महिनासम्म नियमित औषधि सेवन गरेमा पूर्णरूपमा सम्भव हुने बताउनुभयो । उहाँले नगरपालिकाले जोखिमयुक्त क्षेत्रको पहिचान गरी रत्ननगर–९ र ११ मा एआई प्रविधिबाट स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

जन्त्र नेपालका डा. प्रमोदराज भट्टराईले एआई प्रविधिको उपयोगबाट फोक्सो, श्वासप्रश्वास प्रणाली, धूलो–धूँवाको असर तथा मुटुको अवस्थाबारे समेत थाहा पाइने भएकाले यस प्रविधि अत्यन्त प्रभावकारी रहेको बताउनुभयो ।

उहाँका अनुसार नेपालमा ६५ वर्षमाथिका करिब २३ प्रतिशत मानिसमा क्षयरोगको सम्भावना देखिन्छ । साथै, क्षयरोग संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिमा यो रोग लाग्ने सम्भावना सामान्य व्यक्तिभन्दा ६ गुणा बढी हुन्छ । मधुमेह, एचआईभी संक्रमित, उद्योगमा काम गर्ने मजदुर, वृद्धाश्रममा बस्ने तथा एकै कोठामा धेरै जना सँगै बस्नेहरू उच्च जोखिममा पर्ने डा. भट्टराईले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !