सनद अधिकारी

चितवन, १५ असारः चितवनको भरतपुर महानगरपालिकाले २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ आज धुमधामका साथ मनाएको छ । भरतपुर–२४ स्थित केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडको परिसरमा आयोजना गरिएको कार्यक्रममा धान दिवस उल्लासपूर्वक मनाइएको हो ।

 

कार्यक्रम भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी शाखा, जिल्ला कृषि विकास कार्यालय भरतपुर, र केरुङ्गा सहकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले धान नेपालको अर्थतन्त्रमा मेरुदण्डको रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कुल गार्हस्थ्य उत्पादनमा धानको उल्लेखनीय योगदान छ । भरतपुरको आन्तरिक अर्थतन्त्र पनि धान उत्पादनमा निर्भर छ ।”

 

उहाँले कृषिमा यान्त्रीकरण र आधुनिकीकरणमा जोड दिनुपर्ने बताउनुभयो । परम्परागत प्रणालीको संरक्षण गर्दै नयाँ प्रविधिको प्रयोगमा लाग्नुपर्ने उल्लेख गर्दै महानगरले विभिन्न कृषक सहकारीहरुलाई यन्त्र उपकरण वितरण गरिरहेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

 

महानगर प्रमुख दाहालले नारायणी लिफ्ट, केरुङ्गा लिफ्ट र वैकल्पिक भूमिगत सिँचाइ परियोजनामार्फत करिब १० हजार बिगाहा जमिनमा वर्षको १२ महिना सिँचाइ सुविधा पु¥याउन सफल भएको बताउनुभयो। “यो उपलब्धिले यहाँका किसानका लागि ठूलो आशा र सम्भावना बोकेको छ,“ उहाँले भन्नुभयो ।

 

महानगर उपप्रमुख चित्रसेन अधिकारीले धानबाली व्यवस्थापन र लगानीमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न महानगर क्रियाशील रहेको बताउनुभयो । उहाँले भरतपुर दुग्ध, माछा, तरकारी तथा धानमा आत्मनिर्भर बनाउने लक्ष्यमा अघि बढिरहेको जानकारी दिनुभयो ।

 

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले धानको सांस्कृतिक, आर्थिक र सामाजिक महत्व औँल्याउँदै कृषिमा पुस्तान्तरण र वैज्ञानिक पद्धतिको प्रयोग आवश्यक रहेको धारणा राख्नुभयो । साथै मल–विषादी प्रयोगमा सावधानी अपनाउनुपर्ने सुझाव दिनुभयो ।

 

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले धान उत्पादनको सफलताले समग्र आर्थिक वृद्धिमा प्रभाव पार्ने बताउँदै सबै तहबाट योगदान आवश्यक रहेको बताउनुभयो ।

 

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चितवन उर्वर भूमि भएकोले चैते र बर्खे धान दुवै सिजनमा उत्पादन हुने र उत्पादकत्वमा वृद्धि हुँदै गएको जानकारी दिनुभयो। उहाँका अनुसार, चैते धानको उत्पादकत्व ६ मेट्रिक टन र बर्खे धानको ४.२५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

धान दिवसको अवसरमा मेलो समाउने धान रोपाइँ, हिलो दौड, डोरी तान्ने र दही–चिउरा खाने प्रतियोगिता जस्ता रमाइलो कार्यक्रम पनि आयोजना गरिएको थियो ।

 

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, कृषक र सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

 

यस वर्षको नारास्वरूप ‘धान बालीमा सघनता ः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ देशभरि राष्ट्रिय धान दिवस मनाइएको छ ।

सो कार्यक्रमसँगै जिल्लाका अन्य विभिन्न स्थानहरूमा पनि राष्ट्रिय धान दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिएको छ । स्थानीय तह, सहकारी संस्था तथा कृषि सम्बन्धी निकायहरूको पहलमा रोपाइँ महोत्सव, हिलो दौड, परम्परागत धान रोपाइँ प्रदर्शनी लगायतका कार्यक्रमहरू भइरहेका छन् ।

–––

प्रतिक्रिया दिनुहोस !