
कोरोनाभाइरस विरुद्धको लडाईंमा सहि तरिकाले साबुन पानीले हात धुनु अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोनाभाइरसका साथै अन्य सरुवा रोगबाट आफु तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा उत्तम उपाय हो ।
यस्तो अवस्थामा अभिभावकले बिशेष सावधानी अपनाउनुपर्छ । आफ्नो साथै बालबालिकाको व्यक्तिगत सरसफाईमा ध्यान दिन जरुरी हुन्छ । बालबालिकाको व्यक्तिगत सरसफाईमा ध्यान दिदाँ कोरोनाभाइरस लगायत आँखा पाक्ने, दाँत किरा लाग्ने, जुम्रा, चाया पर्ने, दाद, लुतो, छालाको ढुसी, किर्ना, जुका आदिबाट बचाउँन सकिन्छ ।
बालबालिकाको व्यक्तिगत सरसफाईको अभावमा निद्रा र खानपिनमा अरुचि हुनुको साथै वृद्धिविकासमा समेत अवरोध आउँछ । बालबालिकालाई बाहिर लगेर ल्याएपछि हातखुट्टा साबुनपानीले धुईदिँदा कोरोनाको जोखिम कम हुनुको साथै रुघाखोकी र पखाला लाग्न कम भएको विभिन्न अनुसन्धानले देखाउँछ ।
शिशु र बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमता अनुसार सरसफाई गरीदिनुका साथै सिकाउनुपर्छ । बालबालिकालाई दिनको २ पटक दाँत माझ्न सिकाउनु पर्दछ । शिशुको दाँत आए देखिनै दाँत मुख सफा गरी दिनु पर्दछ । शिशु ३ वर्ष पुगेपछि दिनहुँ दाँत माझिदिने र माझ्न सिकाउनु पर्छ । हात, खुट्टा धुने, नुहाउने, समय समयमा नङ काट्ने, कपाल काट्ने गरीदिनुपर्छ ।
बालबालिका दुईदेखि तीन वर्षको उमेर पुगेपछि बिस्तारै निश्चित ठाउँ वा शिशुमैत्री पटीमा दिसा पिसाब गर्ने बानी लगाउनुपर्छ । शिशुलाई दिसा पिसाब नियन्त्रण गर्न सक्षम बनाउन यस्तो बानी लगाउनुपर्छ ।
खाना खानु अघि र पछि, दिसा पिसाब वा चर्पीको प्रयोग गरीसकेपछि साबुनपानीले मिचीमिची हात धोएर देखाउने र धोइदिनुपर्छ ।