चितवनः भारत सहित बिभिन्न देशमा ठूलो संख्यामा जिल्ला बासि रहेको भन्दै सबै वडाहरुमा कम्तिमा एउटा क्वारेन्टाईन निर्माण गर्ने भनिएको भए पनि काम हुन सकेको छैन । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको आईतबार जिल्ला समन्वय समितिमा भएको समन्वय वैठकमा दिईएको जानकारी अनुसार माडी नगरपालिका वाहेक कुनै पनि स्थानीय तहले आबश्यक संख्यामा क्वारेन्टाईन वनाएका छैनन् ।
जिल्ला बिपत व्यवस्थापन समितिको बैठकमा सात स्थानीय तहका ९८ वटै वडामा क्वारेन्टाईन निर्माण गर्ने सहमति भएको थियो । समन्वय वैठकमा दिईएको जानकारी अनुसार भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये ७ वटा वडाले मात्र क्वारेन्टाईन व्यवस्था गरेका छन् ।
महानगरको वडा नम्बर ६, ९, १०, १६,२६, २७ र २८ मा क्वारेन्टाईनको व्यवस्था गरिएको छ भने अन्य वडाहरुमा व्यवस्था गरिएको छैन । ती वडाहरुमा पनि क्वारेन्टाईन निर्माणका लागि काम अघि वढेको महानगरले जानाएको छ ।
रत्ननगर नगरपालिकाले एक स्थानमा मात्रै क्वारेन्टाईनको व्यवस्था गरेको जनाएको छ । १६ वडा रहेको नगरपालिकामा वडा नम्बर १ मा रहेको बकुल्लहर माबिमा मात्रै क्वारेन्टाईन स्थापना गरिएको हो । यस्तै कालिका नगरपालिकामा रहेका ११ वटा वडा मध्ये तीन वटा वडामा मात्रै क्वारेन्टाईनको व्यवस्था गरिएको छ । कालिका नगरपालिकाले सबै वडालाई मिल्ने गरि व्यवस्थापन गरेको जनाएको छ ।
खैरहनी नगरपालिकामा ८ वटा वडामा क्वारेन्टाईनको व्यवस्था गरि सकिएको छ । १३ वटा वडा रहेको यस नगरपालिकाको अन्य वडाहरुमा स्थानको पहिचानको काम भई सकेको र केही दिनमानै सुरु हुने जनाईएको छ । यस्तै १३ वटा वडा रहेको राप्ती नगरपालिकाले दुईवटा वडामा क्वारेन्टाईनको व्यवस्था गरेको र अन्य वडाहरुमा स्थानको पहिचानको काम सम्पन्न भई सकेको र तत्काल व्यवस्थापन गर्ने प्रकृयामा रहेको जनाएको छ ।
माडी नगरपालिकाले १२ वटा क्वारेन्टाईन निर्माण गरि सकेको छ । नगरपालिकामा रहेका ९ वटा वडामा ती क्वारेन्टाईनको व्यवस्था गरिएको हो । जिल्लाको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकामा ७ वटा वडा रहेका छन् । ती वडा मध्ये चार वटा वडामा क्वारेन्टाईन स्थापना गरिएको छ भने अन्य स्थानमा पहिचानको काम भईरहेको वैठकमा जानकारी गराईएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार जिल्लाबाट बाहिरी जिल्ला र विदेशमा रहेका जनताको आधारमा क्वारेन्टाईनको व्यवस्था गर्नु पर्ने हुन्छ । सोही अनुसार स्थानीय तहहरुलाई निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो । स्थानीय तहमा रहेका बिद्यालय, सार्वजनिक भवनको प्रयोग गरेर क्वारेन्टाईन स्थापना गर्न सकीने उहाँले बताउनुभयो । हरेक वडामा आफ्ना जनता राख्नका लागि आँफैले क्वारेन्टाईन, खाना लगाएतको वन्दोवस्त गर्नुपर्ने हुन्छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सबै वडाहरुमा कम्तिमा एउटा क्वारेन्टाईन हुनु पर्ने र अपुग भएमा थप गर्नुपर्ने बताउनुभयो । छिमेकी देश भारतबाट नेपालीहरु फर्कने क्रम सुरु भएकाले व्यवस्थित क्वारेन्टाईन नभएमा समस्या भोग्नुपर्ने उहाँले बताउनुभयो ।
वनिसकेका क्वारेन्टाईनहरुमा मानिसहरु राख्ने क्रम यस अघिनै सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस !