चितवनः पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आज दिउँसो मुद्दा दर्ता गराएको हो ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान भोलि सोमबार १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण आज उनीहरुको बयान लिन नसकिएको उहाँले बताउनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु.५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।

जिल्ला न्यायाधिश हेमन्त रावलको ईजलासमा उक्त मुद्दा रहेको छ ।

साउन २० गते राती नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफुले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाई गर्नु पर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागु भएको नयाँ कानुनमा आत्महत्या गर्न वाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।
लामिछानेसहितको मुद्दाको टुंगो लाग्ने भन्दै ठूलो संख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितरण गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुंगा प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !