रुपन्देही
पुराना राजनीतिक दलप्रति युवा पुस्ताको वितृष्णा बढ्दै गएको र नयाँ दलतर्फ आकर्षण बढिरहेको बहस चलिरहेका बेला रुपन्देहीमा १९ वर्षीय एमबीबीएस विद्यार्थी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
बुटवल उपमहानगरपालिका–४ निवासी प्रधुम्न घिमिरे कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् । देवदह मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत घिमिरेले कुनै दबाब वा लहडमा नभई विचार र सिद्धान्त बुझेर कांग्रेस रोजेको बताएका छन् ।

विद्यालय तहको शिक्षा नमस्ते एकेडेमी र प्लस टु तिलोत्तमा क्याम्पसबाट पूरा गरेका घिमिरे निजी शिक्षण संस्थामा अध्ययन गरे पनि सानै उमेरदेखि राजनीतिक अध्ययन र बहसमा रुचि राख्थे ।
आफ्नो उमेर समूहका धेरै साथी नयाँ राजनीतिक धारतर्फ आकर्षित भइरहेका बेला आफूले भने वैचारिक स्पष्टताका आधारमा कांग्रेस रोजेको उनको भनाइ छ ।
“म ११–१२ वर्षको छँदा बुवा कांग्रेसमा भएकाले नेताहरू घरमा आउँदा राजनीतिक छलफल हुन्थ्यो । त्यहीँबाट कौतूहल जागेपछि मैले बीपीको आत्मवृत्तान्त पढेँ ।” प्रधुम्नले भने, “मैले कांग्रेसको मात्र होइन, माक्र्सवाद, माओवाद र समाजवाद सबैका पुस्तक खोजेर पढेँ । तीमध्ये मलाई कांग्रेसले अँगालेको प्रजातान्त्रिक समाजवाद नै सबैभन्दा उत्तम लाग्यो ।”
समकक्षीहरू वैकल्पिक राजनीतिक धारतर्फ लागिरहे पनि आफू विचलित नभएको उनले बताए । पार्टीमा गगन थापाको नेतृत्व र सक्रियताले आफूजस्ता युवालाई थप ऊर्जा दिएको उनको भनाइ छ ।
“गगन थापाको विषयवस्तुप्रतिको अध्ययन, प्रस्तुति र समन्वयकारी भूमिका निकै मन पर्छ । जेनजी पुस्ताको मनोविज्ञान बुझेर राजनीतिमा परिवर्तन ल्याउन सक्ने नेतृत्व उहाँ नै हो भन्ने मलाई लाग्छ । ”, उनले भने, “हो, अहिले पार्टीको सिट सङ्ख्या केही कम होला, तर कांग्रेसलाई नयाँ ढङ्गले रूपान्तरण गरेर अघि बढाउने विचार र भिजन उहाँसँग छ ।”
विद्यार्थीले राजनीतिमा चासो राख्न नहुने र चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गर्नेले राजनीति सोच्नै नसक्ने भाष्यलाई उनले अस्वीकार गरे ।

“जसले समय व्यवस्थापन गर्न सक्दैन, उसैले यस्ता कुरा गर्छ जस्तो लाग्छ । इच्छाशक्ति भए अध्ययन र राजनीति सँगै अघि बढाउन सकिन्छ । मैले स्कुल–कलेजमा कुनै कमिटीमा बसेर होइन, अध्ययन गरेरै राजनीति बुझेको हुँ । अध्ययनलाई असर नपर्ने गरी नै राजनीतिलाई अघि बढाउँछु”, उनले भने ।

देशमा भविष्य नदेखेर विदेशिने युवाप्रति टिप्पणी गर्दै उनले सिक्न र विशिष्ट अध्ययनका लागि विदेश जानु स्वाभाविक भए पनि नेपालमा केही छैन भनेर विदेशिनु उचित नहुने बताए ।

“सिक्न र विशिष्ट अध्ययनका लागि विदेश जानु स्वाभाविक हो, तर ‘नेपालमा केही छैन’ भनेर भाग्नु सही होइन। म विचारमा प्रतिबद्ध भएर लागेको हुँ, लहडमा होइन। युवाका चाहना र सोचलाई मूलधारको राजनीतिबाटै सम्बोधन गर्न सकिन्छ”, उनले भने ।
प्रधुम्नका बुवा लक्ष्मण घिमिरे र आमा शर्मिला घिमिरे स्थानीय व्यवसायी हुन् । नयाँ पुस्ता राजनीतिबाट टाढिँदै गएको समयमा छोराले डाक्टरी पढाइसँगै वैचारिक राजनीति रोजेकोमा बुवा लक्ष्मण खुसी छन् ।
“बाबु सानैदेखि राजनीतिक विषयमा टाठो थियो। २०७० सालको चुनावमै घरमा मत माग्न आएका एमाले नेता विष्णु पौडेललाई ‘हामी कांग्रेस हौँ, भोट दिन मिल्दैन’ भनेर निर्धक्क भनेको थियो”, लक्ष्मणले सम्झिए, “अध्ययनमा पनि अब्बल छ, एमबीबीएस पहिलो वर्ष उत्तीर्ण गरिसक्यो। छोराको अध्ययन र राजनीतिक चेत देखेर हामीलाई गर्व लाग्छ ।”
१९ वर्षको उमेरमै कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएपछि प्रधुम्नको चर्चा सामाजिक सञ्जालमा समेत बढेको छ। कांग्रेस निकट मात्र नभई अन्य दलसम्बद्ध युवा तथा बुद्धिजीवीले समेत उनको वैचारिक स्पष्टता र सक्रियताको चर्चा गरेका छन् । नयाँ पुस्ताले पुराना दलभित्रै हस्तक्षेप गर्दै रूपान्तरण खोज्नु सकारात्मक भएको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !