चितवनः नेपाली कांग्रेस चितवनका स्थापित नेता तथा सामाजिक व्यक्तित्व साजनकुमार महतो नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। उनले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिँदै क्षेत्रीय प्रतिनिधिहरूसँग आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय महतोले पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। नेपाल तरुण दल चितवनको संगठन निर्माणबाट राजनीतिक यात्रा सुरु गरेका उनले नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य तथा प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी पार्टीका महासमिति सदस्य तथा यसअघि महाधिवेशन प्रतिनिधिसमेत रहिसकेका छन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३(ख) बाट कांग्रेसका उम्मेदवार बनेका महतोले १५ हजार ९४५ मत प्राप्त गरेका थिए । पछिल्लो समय २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस चितवनले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस गरेका नेतामध्ये उनको नामसमेत परेको थियो ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय महतोले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाति समन्वय समितिको उपाध्यक्षका रूपमा काम गरेका थिए। आदिवासी जनजाति समुदायको उत्थानसँगै शिक्षा, पर्यटन र स्थानीय विकासका क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पटिहानी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित महतोले संरक्षण र पर्यटन प्रवद्र्धनका क्षेत्रमा समेत नेतृत्व गर्दै आएका छन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा उनले शिक्षा क्षेत्रमा पनि काम गरेका छन्।
अहिले १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुले उनको राजनीतिक यात्रा निर्वाचन क्षेत्रको राजनीतिबाट पार्टीको राष्ट्रिय अधिवेशन प्रक्रियातर्फ अघि बढेको देखिन्छ। ८८खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुने १० जनाभित्र आफूलाई निर्वाचित गराउन महतोले क्षेत्रीय प्रतिनिधिहरूसँग मतदानका लागि आग्रह गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर पार्टीको नीति निर्माण, नेतृत्व चयन र राष्ट्रिय तहको छलफलमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य राखेका छन्।






