चितवनः नेपालमा राजनीतिक दलका महाधिवेशन, साधारणसभा जस्ता ठूला कार्यक्रममा खाना खुवाउनु पर्दा सम्झने मध्येका एक व्यक्ति जनप्रकाश चापागाई हुनुहुन्छ । दुई ठूला राजनीतिक दलका चार राष्ट्रिय कार्यक्रममा खानाको जिम्मेवारी सम्हालेपछि उहाँ खानाका लागि थप परिपक्क बन्नु भएको हो ।
त्यसो त बेलायतबाट सेवा क्षेत्रमा अनुभव हाँसिल गरेर नेपाल फर्किएपछि उहाँले काठमाण्डौं, बुटवल र भरतपुरमा होटल र पार्टी प्यालेस सञ्चालन गर्दै आउनु भएको छ । काठमाणडौंमा धेरैले चिनेको अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड, गोधुली रेष्टुरेण्टका सञ्चालक चापागाई सहितको समूह छ । उहाँले नेपाली कांग्रेसका दुई वटा महाधिवेशन, एउटा महासमिति र यसै वर्ष चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा ठूलो संख्यामा रहेका नेता कार्यकर्तालाई खाना खुवाईसक्नु भएको छ ।
चितवनको शिवनगरमा वि.सं. २०२४ सालमा जन्मिनु भएका चापागाई चितवनको बालकुमारी क्याम्पसमा उच्च शिक्षा हासिल गरी काठमाण्डौं पुग्नु भयो । काठमाण्डौंमा रहेर चार वर्ष सरकारी सेवामा काम गरेपछि उहाँ बि.सं. २०५३ सालमा बेलायत पुग्नु भयो । बेलायतमा रहँदा उहाँ क्याटरिङ तथा होटल व्यवसायमा संलग्न हुनुभयो । त्यहाँको कामका क्रममा खाना व्यवस्थापन, ठूलो संख्यामा ग्राहकलाई सेवा दिने प्रणाली र क्याटरिङ व्यवसायका विभिन्न पक्षबारे अनुभव हासिल गरेको उहाँले सुनाउनुभयो ।
करिब नौ वर्ष बेलायत बसेपछि वि.सं. २०६२ सालतिर नेपाल फर्किनु भएका चापागाई यहाँ आएपछि व्यवसायमा निरन्तर रुपमा लाग्नुभयो । शुरुमा अस्पताल र घरजग्गामा लगानी गर्नुभएका उहाँले आफूले जानेको सीपलाई उपयोग गर्दै बेलायतबाट फर्किएका पाँच साथीलाई साथमा लिएर पार्टी प्यालेस खोल्नुभयो । काठमाडौंको बसुन्धरामा उहाँको पहिलो दियालो फुडल्याण्ड खुल्यो । त्यसपछि उहाँले भूकम्पका बेला काठमाडौंको बत्तीसपुतलीस्थित तत्कालीन दरबार रहेको क्षेत्रलाई भाडामा लिएर अनुपम फुडल्याण्ड सञ्चालन गर्नुभयो । जग्गाधनी सहितको साझेदारीमा करिब ३० रोपनी जग्गा भाडामा लिएर नयाँ टोलीसहित काम सुरु गरिएको उहाँको भनाइ छ ।
यी दुवैमा राम्रो सफलता पाएपछि उहाँले बुटवलमा दुई वटा र भरतपुरमा एउटा दियालो फुडल्याण्ड सञ्चालन गर्नुभएको छ । काठमाण्डौको बालाजुमा अर्काे दियालो फुडल्याण्ड सञ्चालनमा छ । काठमाण्डौंकै सामाखुशीमा उहाँकै समूहको गोधुली फुडल्याण्ड सञ्चालनमा छ ।
फरक फरक ठाउँमा स्थानीय समेतलाई ३० प्रतिशत साझेदार बनाएर उहाँले व्यवसाय बिस्तार गर्नुभएको हो । यससँगै उहाँले आफ्नो अनुभवलाई ठूला कार्यक्रममा केन्द्रीत गर्नुभएको छ । एउटै कार्यक्रममा एक छाकमा पाँच हजारलाई खाना खुवाईसक्नु भएका चापागाई १० हजार जनासम्मलाई खुवाउन सकिने बताउनुहुन्छ ।
आफूले अनुपम फुडल्याण्डमा दैनिक तीन हजार पाँच सयसम्मलाई खाना खुवाईरहेको सुनाउँदै उहाँले आफ्नै अन्य पार्टी प्यालेसका सामग्री र जनशक्ति प्रयोग गरेर सहजै खाना खुवाउन सकिने बताउनुभयो ।
उहाँका अनुसार १० हजार जनाका लागि खाना तयार गर्न असाधारण किसिमको पूर्वाधार आवश्यक पर्दैन । किचन व्यवस्थापनलाई विस्तार गर्दै जनशक्ति, खाद्य सामग्री र भाँडाकुँडाको पर्याप्त व्यवस्था गर्न सके ठूलो संख्यामा खाना खुवाउन सकिने उहाँको भनाइ छ ।
उहाँका अनुसार कार्यक्रममा अपेक्षा गरिएको भन्दा धेरै मानिस सहभागी हुँदा खाना व्यवस्थापनमा सबैभन्दा बढी दबाब पर्ने उहाँको अनुभव छ । उहाँले भन्नुभयो “मान्छे बढेपछि समस्या हुन्छ । न्यूनतम यति मानिस आउँछन् भनेर तयारी गरिएको हुन्छ, तर त्यसमा थप मानिस आएपछि समस्या हुन्छ ।” उहाँले आफ्नो अनुभव सुनाउनुभयो “छिटो ट्याकल गरेर समाधान गर्नुपर्छ । त्यसका लागि हामीले ब्याकअपको तयारी गरेका हुन्छौँ ।”






