
चितवनः चितवन राष्ट्रिय निकुञ्जवाट वस्ति पसेको एक भाले गैंडालाई उद्धार गरिएको छ । २३ वर्षको भाले गैंडालाई भरतपुर महानगरपालिका वडा नम्वर ९ केन्द्रिय वस टर्मिनल क्षेत्रबाट आज उद्धार गरिएको हो । निकुञ्जको वरण्डाभार क्षेत्रबाट बाटो भुलेर बजार क्षेत्र प्रवेश गरेको सो गैंडालाई उद्धार गरि तमोरताल क्षेत्रमा लगि छाडिएको छ ।
गैंडालाई डार्ट गरी नियन्त्रणमा लिन ६ वटा हात्तीमा ३० जनाको टोली परिचालन गरिएको थियो । सहायक संरक्षण अधिकृत झौलाइ चौधरीका अनुसार बिहान घाँस काट्न गएका स्थानियले घोलमा गैंडा देखेपछि निकुञ्जमा खबर गरेकाथिए । करिव ७ घण्टापछि गैंडा नियन्त्रणमा लिइएको हो । पछिल्लो गणना अनुसार निकुञ्जमा ६ सय ५ वटा गैंडा छन् ।
वासस्थान अभाव, आहाराको अभाव , आहाल वस्न तथा खानको लागि पानीको अभाव हुन थालेपछि गैंडाले स्थान परिवर्तन गर्ने गरेको छ । गैंडाको आन्तरिक स्थान्तरण रोक्नका लागि घाँसे मैदान र पोखरी व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले बताउनुभयो । गत आर्थिक वर्षमा निकुञ्जले ७१ वटा पोखरी निर्माण तथा मर्मत गरेको छ ।