चितवनः निकुञ्जका. पश्चिम बेल्टमा दुर्लभ एक सिंगे गैंडाको संख्या बढेसंगै चितवन राष्ट्रिय निकुञ्जले पूर्वी बेल्टमा बासस्थान व्यवस्थापनको कामलाई प्राथमिकता दिईएको छ । यस आर्थिक वर्षमा निकुञ्जले पूर्वी बेल्टमा घाँसे मैदान व्यवस्थापन र पानी पोखरी व्यवस्थापनको काम अघि बढाउने निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले बताउनुभयो । गत आर्थिक वर्षमा निकुञ्ज भित्र ७० वटा पोखरी निर्माण तथा मर्मत गरिएका थिए । यस वर्ष थप पोखरी तथा घाँसे मैदान व्यवस्थापन गरिने घिमिरेले बताउनुभयो ।
सुरक्षित वासस्थान र आहाराको खोजीमा गैंडाको आन्तरिक बसाइसराई पश्चिम तर्फ सरेको हो । पश्चिम चितवनमा अधिकांश सामुदायिक वनले गैंडा संरक्षणको लागि वासस्थान ,घाँसे मैदान र पोखरी निर्माण गरेकाले सो क्षेत्रमा गैडा रमाउने गरेकाछन् । तर क्षमता भन्दा बढी गैडा एउटै क्षेत्रमा रहँदा मानव वस्तीमा निस्किने र द्धन्द्ध निम्तिन सक्ने खतरा बढेकाले पूर्वी बेल्टमा वासस्थान, घाँसे मैदान तथा पोखरी निर्माण गर्न आवश्यक रहेको घिमिरेको भनाई छ । निकुञ्जको पूर्वी बेल्टमा घाँसे मैदान व्यवस्थापन गरी बासस्थान सुनिश्चित गर्न सके गैंडाको आन्तरिक स्थानतरण सहज हुने उहाँले बताउनुभयो । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६ सय ५ गैंडा छन् ।
निकुञ्जले अर्नाको संख्या वृद्धि तथा थप अर्ना स्थानतरण गरी ल्याउनका लागि पनि घाँसे मैदान व्यवस्स्थापनमा जोड दिएको हो । हाल अर्नाको निम्ति छुट्याइएको ३० हेक्टर क्षेत्रफलमा इन्क्लोजरमा सिमित घाँसे मैदानलाई बढाउने कार्यक्रम रहेको सुचना अधिकारी घिमिरेले बताउनुभयो ।
अर्नाको प्रजनन् सुरु भएकोले संख्या बढ्ने अनुमान सहित घाँसे मैदानको कमी हुन नदिन बेलैमा व्यवस्थापन जरुरी छ । ’ गत एक वर्ष भित्र चितवन राष्ट्रिय निकुञ्जमा अर्नाका तीनवटा बच्चा जन्मिएकाथिए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट सन् २०१७ मा ल्याइएको अर्नाले गत वर्षको साउनमा नै पहिलो बच्चा जन्माएको थियो । त्यसयता थप दुईवटा बच्चा जन्मिएकाछन् । ती मध्ये दुईवटा भाले र एउटा पोथी हो । अर्नाले गर्भाधान भएको १० महिनामा बच्चा जन्माउँछ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ वटा र सदर चिडियाखानाबाट ३ वटा गरी १५ वटा अर्ना ल्याइएकोमा ६ वटा अर्ना विभिद कारणले मरेका थिए ।

प्रतिक्रिया दिनुहोस !