चितवनः सरकारी अस्पताल भन्ने बित्तिकै धेरैको नजरमा नराम्रो छाप परेको पाईन्छ । तर यहाँको सरकारी भरतपुर अस्पतालमा जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकदेखि विदेशमा रहेका नेपालीहरु समेतको प्रसुतीका लागि रोजाई बन्ने गरेको छ ।
त्यसैगरी जिल्ला र आसपासका क्षेत्रबाट विदेश गई बसोबास गरेकाहरु पनि प्रसुती गराउनका लागि भरतपुर अस्पताल आउने गरेका छन् । अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरुका कारण सबैको पहिलो रोजाई भरतपुर अस्पताल बन्ने गरेको छ ।
यसै क्रममा प्रसुती सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५ सय ४५ जना आमाले वच्चा जन्माएका छन् । जस मध्ये १३ हजार ३ सय २७ जिवित वच्चा रहेका थिए भने अन्य मृत रहेका थिए ।
अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको संख्या वढ्दो रहेको छ । अघिल्लो आर्थिक वर्षमा १३ हजार ५ सय २५ जना आमाले वच्चा जन्माएका थिए । आर्थिक वर्ष २०७३÷०७४ मा यो संख्या १२ हजार ९ सय ८० रहेको थियो ।
गत आर्थिक वर्षमा वच्चा जन्माउनेहरु मध्ये ४ हजार ६७ जनाको शल्यकृया गरिएको थियो भने अन्यको सामान्य ढङ्गवाट सुत्केरी गराईएको पौडेलले जानकारी दिनु भयो । विगतका वर्षहरुमा पनि यहि अनुपातमा शल्यक्रिया हुने गरेको छ । अस्पतालमा आउने विरामीको संख्या ठूलो रहेको छ । विभिन्न कारणले आमा र शिशुको उपचारको क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ । पौडेलका अनुसार गत आर्थिक वर्षमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आर्थिक वर्षमा यो संख्या ५ रहेको थियो ।
जन्मिए पछि गत वर्ष ३१ जना शिशुको निधन भएको थियो । पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा यो संख्या २७ रहेको थियो ।

उहाँका अनुसार बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीहरुको हुने भन्दै उहाँले अस्पतालमा ३५ वर्षदेखि प्रसुती विभागमा काम गरेका अनुभवी कर्मचारी रहेको बताउनुभयो । प्रसुती कक्ष (लेवर रुम) मा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरु चौबीसै घण्टा उपलब्ध हुने पौडेलको भनाई छ ।
अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका प्रमुख डा. सुनिलमणी पोख्रेलका अनुसार ठूलो संख्यामा प्रसुती हुने क्रममा विभिन्न कारणले आमा र वच्चाको निधन हुने गरेको छ । यो संख्या राष्ट्रिय रुपमा कम रहेको र अझै तल झार्ने क्रममा रहेको उहाँले जानकारी दिनु भयो ।
अस्पतालमा १० जना प्रसुतीका विशेषज्ञ चिकित्सक रहेका छन् । पोख्रेलका अनुसार छिमेकी मेडीकल कलेज, क्यान्सर अस्पताल र अन्य अस्पतालहरुका चिकित्सकले पनि आफ्ना आफन्तहरु प्रसुती गराउन भरतपुर अस्पतालनै ल्याउने गर्दछन् ।

अस्पतालको प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीले दक्ष जनशक्ति, चौबीसै घण्टा चिकित्सकसहितको सेवा, बिरामीलाई दिईने प्राथमिकता, निःशुल्क प्रसुती सेवालगायतका कारण अस्पताल रोजाईमा पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार अन्य अस्पतालहरुले चर्काे शुल्क लिने भए पनि भरतपुर अस्पताल उपचारपछि घर जानका लागि भाडा समेत दिने गर्दछ ।
नवजात शिशुमा समस्या देखिएमा अस्पतालमा निःशुल्क बाल सघन उपचार कक्ष भएकाले पनि सबैको पहिलो रोजाई भरतपुर अस्पताल बनेको अधिकारीले बताउनुभयो ।
अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दक्ष जनशक्ति, चौबीसै घण्टा चिकित्सक सहितको सेवा, बिरामीलाई दिईने प्राथमिकता, निःशुल्क प्रसुती सेवा लगायतका कारण वर्षेनी अस्पतालमा विरामी थपिने गरेको वताउनु भयो । अस्पतालमा छुट्टै सुविधा सम्पन्न प्रसुती गृह निर्माण गरि शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आँफु लागि परेको तिवारीले वताउनु भयो । अस्पतालमानै देशभरका नर्सहरुलाई तालिम दिने केन्द्र रहेको भन्दै उहाँले यहाँका दक्ष नर्सिङ् कर्मचारीका कारण प्रसुतीमा थप सहजता आएको वताउनु भयो ।
निजिमा प्रसुती गराउँदा ठूलो रकम खर्च हुने भए पनि सरकारी अस्पतालमा निशुल्क प्रसुती सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले सवैलाई सहजता मिलेको उहाँले वताउनु भयो । निजि अस्पतालमा शल्यक्रिया गरेर वच्चा झिक्न रु ५० हजार हाराहारी खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसुती गराउँदा यहाँको जन्म प्रमाणपत्र पछि सम्म काम लाग्ने र भर पर्दो हुने गर्दछ ।
महिलाले सुत्केरी हुनु अघि कम्तिमा चार पटक गर्भ परिक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि अस्पतालमा अरु व्यवस्थित गर्न प्रशासन लागि परेको तिवारीको भनाई छ । नयाँ भवन भए संगै सवै व्यवस्थित हुने उहाँले जानकारी दिनु भयो । अस्पतालको शिशु सघन उपचार कक्ष १२ शैयाको मात्र रहेको छ । जसका कारण यहाँ आमा राखेर शैयाको अभावमा शिशुलाई अन्य अस्पतालको शिशु सघन उपचार कक्षमा राख्ने वाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !