चितवनः एउटा मृत शरिर संग छोटो समय विताउन जो कोहिका लागि कठिन हुने गर्दछ । तर एक जना व्यक्तिले लाश सगैं ६ वर्ष विताएका छन् ।
भरतपुर अस्पतालको शव गृहमा काम गर्ने खोटाङ्को वुईपा गाउँपालिका वडा नम्वर ६ छापगाउँका ४८ वर्षिय देपआनन्द राईले ७ हजार भन्दा वढि शव गृहमा राख्ने र ती शवलाई चिर्ने÷सिउने काम गरिसक्नु भएको छ । घटनाका आधारमा पोष्टमार्टमका लागि शवको एक ठाउँ देखि पुरै शरिर सम्म चिर्नु पर्ने हुन्छ । पोष्टमार्टम गर्ने चिकित्सकले माक्स र ग्लोव लगाएर टाढैवाट आदेश दिने गरेपनि राईले त्यसको सवै वन्दोवस्ति मिलाउँदै आउनु भएको छ ।
सुरुका पाँच दिन सम्म खाना नरुचेको वताउने राई हिजोआज मासु खानमा रुचि घट्दै गएको वताउनु हुन्छ । कम पारिश्रमीकमा ठेकेदारको मजदुरको रुपमा कार्यरत राईले कामको अभ्यस्थताका कारण धेरै ज्ञान हाँसिल गरिसकेको वताउनु भयो । दुर्घटनावाट मृत्यु भएकाहरुको कहाँ हड्डी भाँचिएको छ छामेरै पत्तालगाउन सक्ने ज्ञान राईमा भएको छ । उहाँले भन्नुभयो “विष सेवन गरेका, भुण्डीएका, दुर्घटनामा परेका जो कसैको पोष्टमार्टम गर्दा के गर्नु पर्छ मलाई ज्ञान भईसक्यो ।”
शंकास्पद देखिएमा शरिरको धेरै ठाउँ चिर्नु पर्ने र भिशेरा परिक्षणका लागि अंग निकाल्नु पर्ने भए पनि सामान्य अवस्थामा शरिरको एक दुई ठाउँमात्रै हेरेर हुने राईको भनाई छ । उहाँले भन्नुभयो “विष सेवन गरेर शंङ्कास्पद देखिएमा मुटुको रगत, मृगौला, कलेजो, ठूलो पेटको भाग निकालेर डिव्वामा राख्नु पर्छ, अनि भिशेराका लागि पठाउनु पर्छ ।”
दैनिक एक दुईवटा देखि २४ वटा सम्म पोष्टमार्टमका लागि शरिर चिरफार गर्ने गरेको वताउने राईले मासिक रुपमा एक सय भन्दा वढि पोष्टमार्टमका लागि काम गर्ने गरेको वताउनु भयो । मानिसको रगत गनाउँदा काम गर्न निकै कठिन हुने गरेको भन्दै राईले थोरै मदिरा र भोला नखाई काम गर्न नसक्ने वताउनु भयो । परिवार पाल्नका लागि यो कठिन काम गर्ने गरेको भए पनि मासिक पारिश्रमीक रु ११ हजार मात्र पाउँदा भने दिक्क लागेको राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !