
चितवनः विरेन्द्र वहुमुखी क्याम्पस भरतपुरका विद्यार्थीहरुले आगलागी र तोडफोड गरेका छन् । सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले आगजनी गरेका हुन ।
क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीवाट सहायक क्याम्पस प्रमुखहरु वस्दै आएको कुर्ची, टेवुल पूर्णरुपमा नष्ट भएको छ भने कोठामा रहेका दराज, झ्यालका सिसाहरु तोडफोड गरिएको छ । विहान ९ वजे क्याम्पस परिसरमा आएको विद्यार्थीहरुको समुहले आगजनी गरेको हो । आगजनीका कारण के कति क्षती भयो भन्ने आई नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनु भयो । आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिईएको थियो ।
यस अघि सहायक क्याम्पस प्रमुखहरुको कार्यकक्षमा विद्यार्थीहरुले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो । सो क्रममा अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी नेता मिलन भटराई माथि कुटपिट भएको थियो । सो कै विरोधमा भटराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेको अनेरास्ववियूका क्याम्पस कमिटिका अध्यक्ष लिलाराम पौडेलले जानकारी दिनु भयो ।
उता क्याम्पस प्रशासनले भने विद्यार्थीहरु विचको सामान्य विवादका कारण क्याम्पसमा आगजनी गरिएको जनाएको छ । यस विषयलाई लिएर नेपाल विद्यार्थी संघ विरेन्द्र वहुमुखी क्याम्पसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष अनमोल अधिकारीले शैक्षिक संस्थामा गरिएको यस्तो अमानविय कार्यले शैक्षिक वातावरण धमिलिने भन्दै यस्ता कार्य तुरुन्त रोक्नका लागि माग समेत गर्नु भयो । सामान्य साथिभाईहरुको विवादलाई लिएर राजनैतिक रुपमा ल्याईएको भन्दै अधिकारीले यस्तो कार्य नगर्न समेत आग्रह गर्नु भयो ।