
चितवनः प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले भौतिक विकास मात्र विकास नभएको वताउनु भएको छ ।सरसफाई तथा हरियाली प्रवर्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सुत्र वनाउन आवश्यक रहेको वताउनु भयो ।
समाज परिवर्तन गराउनका लागि सरसफाई तथा हरियाली प्रवर्धन पनि एउटा वाटो भएको उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले सरकारले पुरानै तरीकावाट काम गर्ने हो भने विकास सम्भव नभएको वताउनु भयो । उहाँले भन्नुभयो “हामी आएको परिर्वतनका लागि हो। पुरानो तरीकावाट विकास सम्भव छैन । हामी आँफैवाट परिवर्तनको आवश्यकता छ ।” उहाँले थप्नुभयो “हिजोको संस्कारवाट देशको विकास सम्भव छैन ।”
विकास निर्माणमा अहिले भएको दोहोरीने प्रकृयाको अन्त्य गर्दै अघि वढ्नु पर्ने उहाँको भनाई थियो । विकासका लागि तीनवटै सरकारका विचमा सहकार्य हुन आवश्यक रहेको उहाँले वताउनु भयो । विकासलाई संवृद्धि संग जोड्नु पर्नेमा उहाँले जोड दिनुभयो । विकासले रोजगारी सृजना गर्दै उत्पादनमा वृद्धि गर्नु पर्ने उहाँको भनाई थियो ।
फरक प्रसंगमा वोल्दै मुख्यमन्त्री पौडेलले काँग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “विकास सवैका लागि हो । विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ।” विकास प्रतिको अवधारण स्पष्ट नहुँदा विकास निर्माणले तिव्रता पाउन नसकेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले चितवनको क्षेत्र नम्वर २ को (ख)मा मात्रै गत आर्थिक वर्षमा ६५ हजार फलफुलका विरुवा रोपिएको जानकारी दिनु भयो । हरियाली कार्यक्रमलाई प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको पनि उहाँले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले लगाएतले वोल्नु भएको थियो । कार्यक्रमको शुभारम्भ अगाडी मुख्यमन्त्री पौडेलले वृक्षारोपण, सहरी वायोग्यास प्लान्ट उद्घाटन, पानी शुद्धी करण, फोहोर व्यवस्थापन लगाएतको उद्घाटन गर्नु भएको थियो ।
यस कार्यक्रम अन्तर्गत भरतपुर एक वगैंचा, सफा भरतपुर र हरियाली भरतपुर नाम दिएर फोहोर व्यवस्थापन, सरसफाई, वृक्षारोपण, पानीको शुद्धीकरण, शहरी वायोग्यास प्लान्ट जस्ता कार्यक्रमहरु संञ्चालन गरिने सरसफाई तथा हरियाली कार्यक्रम संञ्चालन समितिका अध्यक्ष केशव रेग्मीले जानकारी दिनु भयो ।