
चितवनः देशको तेस्रो पर्यटकीय गन्तव्य सौराहा यतिवेला सुनसान वनेको छ । वर्षात सुरु हुनु र निकुञ्जले जिप सवारी वन्द गरे संगै यहाँ आउने पर्यटकको संख्यामा कमि आएको छ ।
द्धन्द्धको समय पछि यस वर्ष वषाताको समयमा पर्यटकको आगमन घटेको हो । अन्य वर्षमा वर्षात भए पनि पर्यटक आउने गरेका थिए । तर यस वर्ष भने न्यून मात्रामा मात्रै पर्यटक आएकाले व्यवसायीले कतिपय होटलहरु वन्द गरेर मजदुरलाई घरविदा दिएका छन् ।
विगतका वर्षहरुको तुलनामा यो मौषममा निकै कम पर्यटक आएको व्यवसायीहरुले वताएका छन् । क्षेत्रीय होटल संघ चितवनका कार्यवहाक अध्यक्ष दिपक भट्टराईका अनुसार असार महिना सुरु भए देखि पर्यटकको संख्या निकै कम छ । उहाँका अनुसार गाडीवाट आउने पर्यटक दैनिक ५० जना सम्म पुग्न मुस्किल भएको छ । समुहमा आउनेहरु पनि कम छन् ।
गतवर्ष यतिवेल दैनिक १ सय ५० जना भन्दा वढि पर्यटक गाडीमा आउने गर्दथे । पर्यटक अस्वभाविक रुपमा कम आए पछि कतिपय होटलले मजदुरहरुलाई खेत रोपाईमा जान विदा दिन थालेका छन् । वि. सं. २०७२ साल अघि सम्म यो मौषमा होटलहरुले मजदुरलाई छुट्टि दिने गरेका थिए । त्यसपछिका वर्षहरुमा विदा नदिएको भए पनि यस वर्ष केहि होटलले पर्यटक निकै कम भए पछि मजदुरलाई विदा दिन थालेका हुन । होटलमा पर्यटक नहुँदा मजदुरलाई खुवाएर पाल्नुको सट्टा घरको काम गर्न विदा दिए पछि खुवाउने खर्च जोगिने गर्दछ ।
संघका महासचिव राममणि खनालले शशस्त्र द्धन्द्धको समयमा जस्तै गरि पर्यटकमा कमि आएको वताउनु भयो । वि.सं.२०५८ साल देखि २०६४ साल सम्म पर्यटक आगमनमा निकै कमि आएको थियो । त्यसैलाई झझल्को दिने गरी पर्यटक आगमनमा गिरावट आएको खनालले जानकारी दिनु भयो ।
गर्मी वढेको, अन्यत्र क्षेत्र विस्तार भएको, निकुञ्ज भित्रको गतिविधिमा हुने कमि लगाएतका कारण पर्यटक आगमनमा गिरावट आएको अनुमान गरिएको छ । सौराहामा १ सय १० वटा पर्यटकीय होटल रहेका छन् । जहाँ २ हजार ७ सय ५० जना वस्न सक्ने क्षमता रहेको छ । आर्थिक वर्षको मसान्तको समयमा पर्यटकमा निकै कमि आए पछि होटलहरुलाई वैंकको व्याज र किस्ता भूक्तानीमा समेत समस्या देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ति सामुदायीक वनमा घुम्ने पहिलो उदेश्य लिएर यहाँ पर्यटक आउने गर्दछन् ।
अहिले आएका न्यून पर्यटकहरु चिनिया,भारतीय र नेपाली पर्यटक आएका छन् ।