चितवनः तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको आज निधन भएको छ । उहाँको नारायणगढस्थित आफ्नै निवासमा विहान ११ः५५ बजे निधन भएको हो ।
विं.सं.२०६२ सालमा विहान पैदल यात्राका क्रममा मोटरसाइकलले ठक्कर दिएपछि उहाँ अस्वस्थ हुनु भएको थियो । त्यसयता उहाँको अधिकांश समय घरमा नै वित्ने गरेको थियो ।
चुके वि.सं.२०३५ सालमा तत्कालीन भरतपुर नगरपञ्चायतको प्रमुख बन्नुभएको थियो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि पनि उहाँ भरतपुर नगरपालिकाको प्रमुख बन्नुभएको थियो । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षिय साँसदसमेत हुनुभएको थियो ।
विं.सं. १९९२ कार्तिकमा गुल्मीमा जन्मनु भएका चुकेको ८४ वर्षको उमेरमा निधन भएको उहाँका छोरा उत्तमलाल चुकेले जानकारी दिनु भयो । वुवा ज्योतिलाल चुके र आमा गंगादेवि चुकेको कान्छा छोराको रुपमा जन्मनु भएका मुक्तिलाल चुकेका तीन जना छोरा र एक छोरी हुनुहुन्छ । नारायणगढ स्थित चुके निवास नेपाली काँग्रेसका अग्रज नेताको चितवन आउँदा वस्ने घर रहेको थियो ।
उहाँको निधनले काँग्रेस चितवन शोकमा परेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले पूर्व महासमिति सदस्य समेत रहनु भएका चुकेको निधनले काँग्रेस शोकमा परेको वताउनु भयो । चुकेको निधन प्रति दुःख व्यक्त गर्दै सभापति श्रेष्ठले भोलि विहान ८ वजे देखि ९ वजे सम्म उहाँको सम्मानका लागि पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखिने वताउनु भयो ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाको उपस्थितिमा अन्तिम श्रद्धान्जली दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !