चितवनः उपराष्ट्रपति नन्दवहादुर पुनले योगको सुरुवात नेपालवाट भएको वताउनु भएको छ । पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनले आज यहाँ आयोजना गरेको योग शिविरको उदघाटन गर्दै उहाँले योगको सुरुवात शिव पार्वतीको संमावदवाट भएको र त्यो नेपालवाट भएको वताउनु भएको हो ।
योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे यससँग सम्बन्धित विज्ञहरुले भिन्न भिन्न कोणबाट तर्क गरेको भन्दै उहाँले भन्नुभयो “विद्वानहरुले योगको सुरुआत शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गर्दै आएका छन् । ” उहाँले थप्नुभयो “वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट प्राचीनकालमा मानिसले मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति गर्ने गरेको मानिन्छ ।”
योगको परिभाषा जे भए पनि यो एउटा विज्ञानको रुपमा स्थापित भएको भन्दै उहाँले केहीं दिन अघिमात्रै एकजना विज्ञले आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलीको जन्म नेपालको अर्घखाँची जिल्लामा भएको प्रमाण सहित दावि गरेको जानकारी दिनु भयो ।
उपराष्ट्रपति पुनले आज संसारका १७५ वटा राष्ट्रले स्वीकार गरेको योग नेपालबाटै फैलिएको वताउनु भयो । आज योग कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दू, बौद्ध र जैन संस्कृतिमा व्यवहारिक प्रयोग भईरहेको उहाँको भनाई थियो । त्यसकारण योग नेपाली भूमिबाट विश्वभरका मानिसमा फैलिएको सन्देश भएको भन्दै उहाँले विश्वभरका मानिसलाई एकताको सुत्रमा बाँध्ने माध्यम पनि योग हो भन्नुभयो ।
स्वस्थ शरिर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको उहाँले वताउनु भयो । उहाँले योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाईरहने वताउनु भयो ।
योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाईरहेको भन्दै उहाँले आज विश्वभरका मानिसहरु कुनै न कुनै रोगसँग जुधिरहेका छन् भन्नुभयो । हरेक मानिस रोग लाग्नबाट कसरी बच्ने भनेर विभिन्न विकल्पहरुको खोजीमा रहेको उहाँको भनाई थियो । आजको विश्वमा मानिसहरुले ठूल–ठूला भौतिक सुख सयलहरु प्राप्त गरेका भए पनि ती मानिसहरु आत्मिक शान्ति, मानसिक सुखको खोजीमा रहेको उहाँले वताउनु भयो ।
नेपालबाट फैलिएर अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेको र संयुक्त राष्ट्र संघको ६९ औं महासभाले जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वभरका योग अनुरागीहरुमा उहाँले शुभकामना पनि व्यक्त गर्नु भयो ।
अन्तर्राष्ट्रिय योग दिवस समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्र विक्रम महतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर ३ का अध्यक्ष नारायण दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, टंकनाथ पौडेल, रामप्रसाद वस्ती लगाएतले वोल्नु भएको थियो ।
सो अवसरमा उपराष्ट्रपति पुन, उहाँकी धर्मपत्नी हस्तमालीनि पुन लगाएत उपस्थित भएकाहरुले योग गर्नु भएको थियो ।