
चितवनः कृषि उत्पादनका दृष्ट्रिले महत्वपूर्ण मानिने चितवन जिल्लामा माटोमा अम्लियपना वढ्दै गएको छ । जिल्लाका कृर्षकहरुले अत्याधिक मात्रामा रासायनीक वलको प्रयोग गर्दा उत्पादन योग्य जमिनमा अम्लियपना वढ्दै गएको कृषि ज्ञान केन्द्र भरतपुरले जनाएको छ ।
जिल्लामा अहिले ६५ प्रतिशत माटोमा अम्लियपना रहेको रत्ननगर प्रयोगशाला र मातृभूमि कृषि सप्लार्यसले जनाएका छन् । पूर्वि चितवनको माटोमा ७० प्रतिशत र पश्चिम चितवनको माटोमा ६० प्रतिशत अम्लियपना रहेको परिक्षणमा भेटिएको हो ।
रत्ननगर प्रयोगशालाले यस आर्थिक वर्षमा गरेको ४ हजार २ सय स्थानको माटो परिक्षण र मातृभूमिले गरेको ८ हजार माटो परिक्षणमा यस्तो भेटीएको हो । माटोमा अम्लिय पना वढे संगै उत्पादनमा ह्रास आउन थालेको कृषकहरु चिन्तित वनेका छन् । रत्ननगर नगरपालिकामा रहेको गुप्तेश्वरी कृषि संस्थाका नवराज न्यौपानेले माटोमा वढेको अम्लियपनाका कारण उत्पादनमा कमि आएको वताउनु भयो । विषादी र रासायनीक मलका कारण माटो विग्रीएको उहाँको भनाई छ ।
माटोमा अम्लियपना वढे संगै विरुवाको उम्रने शक्ति र उत्पादन शक्ति घट्दै जाने भएकाले उत्पादनमा कमि आएको हो । जसका कारण माटोमा फस्फोरसको मात्रा कम हुने भएकाले उत्पादनमा कमि आउने रत्ननगर प्रयोग शालाका प्रमुख जिवन पौडेलले जानकारी दिनु भयो । माटोमा अम्लियपना ६ दशमलव ५ देखि ७ दशमलव ५ हुनु पर्नेमा जिल्लामा परिक्षण गरिएका माटोमा ५ दशमलव २ प्रतिशतमा पुगेको उहाँले जानकारी दिनु भयो ।
मातृभूमि कृषि सहकारी सप्लायर्सका प्रमुख रामचन्द्र भण्डारीले नेपालको ५५ प्रतिशतमा अम्लियपना देखिएको भए पनि जिल्लाको माटोमा ६५ प्रतिशत देखिएको वताउनु भयो । कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले जिल्लाको माटोमा देखिएको अम्लियपना घटाउनका लागि कृषि चुनको प्रयोग गर्न आबश्यक रहेको जानकारी दिनु भयो । कृषकहरुले रासायनीक मलको प्रयोग कम गर्दै प्राङ्गारीक मलको प्रयोग गर्नु आबश्यक रहेको उहाँको भनाई छ ।
जिल्लामा अहिले वार्षिक १५ हजार मेट्रीकटन रासायनीक मलको माग हुने गरेको कृषि सामाग्री कम्पनी चितवनले जनाएको छ । जस मध्य अहिले १० हजार मेट्रीकटन मल आबश्यक उपलव्ध गराउँदै आएको छ । यस्तै डिएपि मल ४ हजार ६ सय मेट्रीकटन र पोटास १ हजार ५ सय मेट्रीकटन वितरण गर्दै आएको कार्यालयका प्रमुख रविन्द्र गौतमले बताउनु भयो ।
वार्षिकरुपमा रासायनीक मलको माग वढ्दो मात्रामा रहेको छ । अहिले जिल्लामा १ सय ६५ वटा सहकारी मार्फत रासायनीक मल वितरण गर्दै आएका छन् ।