चितवन: पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थीव शरिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ताले दागवत्ति दिनु भएको छ । पौडेलको आज माडी नगरपालिका वडा नम्बर ५ मा रहेको मगुई खोलामा अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कार गर्ने क्रममा उहाँको पार्थीव शरिरमा पौडेलका धर्म पत्नी गंगा वेलवासे, छोरीहरु जागृती र आकृती पौडेल संगै नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले दागवत्ती दिनु भएको हो ।
पौडेलका दुई छोरी मात्रै भएकाले प्रबक्ता श्रेष्ठले दागवत्ती दिनु भएको हो । पौडेल श्रेष्ठ निकट नेताको रुपमा चिनिनु हुन्थ्यो । जसका कारण पनि अन्तिम संस्कारमा सहभागि हुन माडी पुग्नु भएका श्रेष्ठले दागवत्ती दिनु भएको हो ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नु भएको छ । माडीको वघौडा अस्पताल अगाडी आज उहाँको शरिरमा दाहाल सहितका नेताहरुले झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्नु भएको हो ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा बादल, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, बामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, नेकपाका प्रमुख सचेतक देव गुरुङ्, नेकपा प्रदेश नम्वर तीनका अध्यक्ष नारायण दाहाल, प्रदेश नम्वर तीनका आर्थिक मामिला तथा कानुन मन्त्री शालिग्राम जमरकट्टेल, प्रदेशका सांसदहरु, नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगर प्रमुख ठाकुर ढकाल लगायतले श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।
सो अवसरमा नेकपाका अध्यक्ष दाहाल द्धारा जारि शोक विज्ञप्ति वाचन गरेर सुनाईएको थियो । विज्ञप्तिमा पौडेलको निधनले सिंगो पार्टी र देशमा अपुरणीय क्षती पुगेको जनाईएको छ ।
श्रद्धान्जली अर्पण गर्न ठूलो संख्यामा नेता कार्यकर्ता माडी पुगेका थिए । आज बिहान ७ बजे पौडेलको हृदयघातबाट निधन भएको हो । उहाँको निधनले माडी क्षेत्र शोकमा डुबेको छ ।
बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट वि सं २०२२ कार्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल वि.सं. २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो ।
मोहनविक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको बिद्यार्थी संगठनको कार्यकर्ताबाट राजनीति सुरु गर्नु भएका पौडेल वि.सं. २०३९ सालमा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, वि.सं.२०४१ मा केन्द्रीय सदस्य हुँदै वि.सं.२०५१ मा तात्कालिन नेकपा एकता केन्द्र विभाजन पछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजक समेत चुनिनु भएको नेकपा नेता ईश्वरी भटराईले जानकारी दिनु भयो ।
दोस्रो संविधानसभामा उहाँ संविधान सभाको सदस्य वन्नुभएको थियो । सोहि समयमा अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा उहाँले शिक्षा मन्त्रालयका जिम्मेवारी पुरा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !