चितवनः जिल्लालाई आज दुधमा आत्मनिर्भर घोषणा गरिदै छ । प्रदेश तीनका सहकारी, कृषि तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाले जिल्लालाई दुधमा आत्मनिर्भर घोषणा गर्ने कार्यक्रममा रहेको छ ।
जिल्ला दुधमा आत्मनिर्भर वन्दै गर्दा कृषकहरुको समस्या भने जिउका तिउ रहेको पाईन्छ । चितवन दुध उत्पादनमा उर्वर जिल्ला भए पनि किसानका धेरै समस्या रहेको चितजन दुग्ध उत्पादक सहकारी संघका अध्यष रत्नमणी न्यौपानेले वताउनु भयो । उहाँका अनुसार दुधको मुल्य कम हुनु, लागत मुल्य वढि हुनु, दाना चोक्करको मुल्य नियमीत वढ्नु, उन्नत जातको घाँसको विउ पाउन मुस्किल पर्नु, थारा गाई व्यवस्थापन र गौशालाको अभाव रहेका छन् । यसैगरि किसानलाई दिईने सहुलियत ऋण लिन कठिन हुने, नेपाल सरकारको अनुदान प्रयाप्त नभएको, संस्था दर्ता गरेर पहुँचको भरमा अनुदान दिईने, भ्याक्सिन समयमा नपाउने जस्ता समस्या भएको न्यौपानेले जानकारी दिनु भयो ।
देशलाईनै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर वनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दुधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करिव ३ महिना लगाएर गरेको अध्ययनले जिल्ला पूर्ण रुपमा आत्मनिर्भर भएको देखाएको हो ।
केन्द्रका प्रमुख डा. विजय श्रेष्ठका अनुसार विश्व खाध्य संगठनले एक जना व्यक्तिले स्वस्थ रहन एक दिनमा २ सय ५० मिलि लिटर दुध प्रयोग गर्नु पर्ने जनाएको छ । जसअनुसार एक जना व्यक्तिले एक वर्षमा ९१ लिटर दुध प्रयोग गर्नु पर्छ । श्रेष्ठले भन्नुभयो “जिल्लामा ६ लाख २५ हजार जनसंख्या छन् । जसलाई दैनिक १ लाख ५६ हजार लिटर दुध आबश्यक पर्दछ ।” उहाँको भनाईमा जिल्लामा दैनिक २ लाख ९० हजार लिटर दुध उत्पादन हुँदै आएको छ ।
जिल्लामा खपत भएर वाँकी रहेको १ लाख ३४ हजार लिटर दुध वाहिरी जिल्ला जाने गरेको छ । श्रेष्ठले धेरै दुध काठमाडौं जाने जानकारी दिदै वाँकी कास्की र छिमेकी जिल्लाहरुमा जाने गरेको वताउनु भयो । केन्द्रले संकलन गरेको तथ्याङ्क अनुसार जिल्लामा दुध दिने गाई ४९ हजार छन् । जस मध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार रहेका छन् । यसै गरि १० हजार स्थानीय र ९ हजार उन्नत जातका भैसी रहेका छन् ।
स्थानीय तहको पशु सेवा शाखा मार्फत तथ्याङ्क लिईएको हो । चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणी न्यौपानेका अनुसार जिल्लामा एक सय ३८ वटा दुग्ध उत्पादक सहकारी मध्ये एक सय ४ वटा क्रियाशिल रहेका छन् । उहाँले सरकारले सहयोग गरेमा पाँच वर्ष भित्रमा हालको उत्पादनको ५० प्रतिशत दुध वढाउन सक्ने जानकारी दिनु भयो । गाई वाच्छी प्रजनन केन्द्रको विकास गर्न सहयोग पाएमा दुध र गाई समेत वाहिरवाट नेपालमा ल्याउन नपर्ने गरि यहि उत्पादन गर्न सकीने न्यौपानेको भनाई छ ।
यस जिल्लालाई आज दुधमा आत्मनिर्भर जिल्लाको रुपमा घोषणा गरिदैं छ । यस अघि काभ्रे जिल्ला आत्मनिर्भर जिल्लाको रुपमा घोषित भएको थियो । पशुसेवा विज्ञ केन्द्रका अनुसार चितवनलाई दोस्रो जिल्लाको रुपमा घोषणा गरिदैंछ ।