चितवनः जिल्लामा औलो रोगका विरामीको संख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमश संख्या घट्दै गएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको माघ महिना सम्ममा ९ जनामा संक्रमण देखिएको छ । ४ हजार २ सय ८६ जनाको परिक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको हो । संक्रमित मध्ये दुई जना स्थानीय रहेका छन् भने अन्य सात जना वाहिरि जिल्लावाट आएको कार्यालयले जनाएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा शंकास्पद ४ हजार २१ जनाको रगतको नमुना परीक्षण गर्दा १५ जनामा औलो रोग देखिएको थियो । ती मध्ये १ जना स्थानीय र १४ जना वाहिरवाट आएका थिए । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा १६ जनामा औलो देखिएको थियो । त्यसवर्ष यहाँका २ हजार दुई सय ५० जनाको रगतको नमुना परीक्षण गरिएको थियो ।
केसीका अनुसार कुनै एक क्षेत्रको व्यक्तिमा औलो देखिएको अवस्थामा त्यस वरिपरीका ५० घरमा सतर्कता अपनाइने गरेको छ । नेपाललाई सन् २०२५ सम्म औलो उन्मुलन गर्ने गरी कार्यक्रम भइरहेको उल्लेख गर्दै केसीले सन् २०२२ सम्म नेपालमा औलोको स्थानीय संक्रमणलाई शून्यमा झार्ने योजना रहेको छ । चितवन सहित देशभरी स्थानीय भन्दा आयातित संक्रमित बढी देखिएको केसीले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनमा प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले आज आयोजना गरेको औलो रोग निवारणका लागि संस्थागत बैठकमा केसीले एनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्ने गरेको जानकारी दिनु भयो । नेपालमा एनोफेलिज जातको विभिन्न चार वटा प्रजातिको टोकाइका कारण औलो रोगको संक्रमण देखिएको केसीको भनाइ छ ।
सो कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ का किट नियन्त्रक चन्द्रेश्वरप्रसाद यादवले नेपाल भारतको खुला सिमानाका कारण आयातित औलोका बिरामी बढी हुने गरेको बताउनु भयो । स्थानीय औलो नियन्त्रण गरेपछि आयातीत औलो नियन्त्रण गर्न समेत सहज हुने यादबको भनाइ छ ।
सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसिया, जनस्वास्थ्य अधिकृत अनुप अधिकारी, विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !