नारायणगढः बरन्डाभार जैविक मार्गको जीवनरेखा मानिने खगेरी खोलामा बढ्दो अतिक्रमण, फोहर व्यवस्थापनको समस्या र अव्यवस्थित उत्खननका कारण यसको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि डिभिजन वन कार्यालय चितवन संरक्षण अभियानमा सक्रिय भएको छ ।
बरन्डाभार क्षेत्र हुँदै बग्ने मुख्य जलाधार तथा चितवन राष्ट्रिय निकुञ्जको महत्वपूर्ण पानीको स्रोतका रूपमा रहेको खगेरी खोलाको दीर्घकालीन संरक्षणका लागि कार्यालयले सरोकारवालाबीच छलफल सुरु गरेको हो । कार्यालयका अनुसार खोलाको संरक्षणले बरन्डाभार जैविक मार्ग, बीसहजारी ताल क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यहाँको समग्र पारिस्थितिक प्रणाली जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले खगेरी खोलाको महत्व जनस्तरसम्म पु¥याउन र स्थानीय तहलाई पनि संरक्षण अभियानमा सहभागी गराउन बृहत् छलफल सुरु गरिएको बताउनुभयो । उहाँले बरन्डाभार क्षेत्र निकुञ्जको दिगो संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै खगेरी त्यस क्षेत्रको प्रमुख जलाधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बरन्डाभार क्षेत्र जोगाउन खगेरी जलाधार जोगिनुपर्छ । यो केवल खोला मात्र होइन, बरन्डाभारको जीवन प्रणालीसँग जोडिएको जलाधार हो ।” खगेरी खोला इच्छाकामना गाउँपालिका–७ बाट सुरु भई बरन्डाभार क्षेत्र हुँदै बीसहजारी तथा आसपासका ताल–तलाउमा पानी पु¥याउँदै चितवन राष्ट्रिय निकुञ्जभित्र बुढीराप्ती नदीमा मिसिन्छ । यसले इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा प्रत्यक्ष रूपमा सिँचाइ सुविधा पु¥याउँदै आएको छ ।
जलाधारविज्ञ डा नवीन ढुङ्गानाले खगेरी जलाधार बरन्डाभार जैविक मार्गको जीवनरेखा रहेको बताउनुभयो । उहाँका अनुसार खगेरी खोलाको प्रभाव क्षेत्र करिब १७२ वर्ग किलोमिटर रहेको छ भने बीसहजारी, राइनो ताल, टाइगर ताललगायत दर्जनौँ ताल–तलाउमा पानीको आपूर्ति गर्ने मुख्य स्रोत पनि यही हो ।
उहाँले भन्नुभयो, “खगेरी सिँचाइ र जल पुनर्भरण गर्ने प्रणाली हो । बीसहजारी क्षेत्रलगायत यहाँका ताल–तलाउ जीवित राख्न यसको महत्वपूर्ण भूमिका छ ।” डा ढुङ्गानाले बरन्डाभार जैविक मार्ग दक्षिणमा भारतको वाल्मीकि टाइगर रिजर्भदेखि उत्तरमा अन्नपूर्ण संरक्षण क्षेत्रसम्म वन्यजन्तुको आवागमनका लागि महत्वपूर्ण जैविक मार्गका रूपमा विकास हुने सम्भावना रहेको उल्लेख गर्नुभयो । त्यसैले खगेरी जलाधारको संरक्षण वन्यजन्तु, जैविक विविधता र समग्र पारिस्थितिक प्रणालीका लागि आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, विभिन्न स्थानमा फोहर डम्पिङ, पिकनिकस्थलबाट हुने फोहर तथा अव्यवस्थित उपयोगले जलाधार र वन्यजन्तु दुवैमा प्रत्यक्ष असर परेको बताउनुभयो ।
वरिष्ठ डिभिजनल वन अधिकृत आचार्यले बरन्डाभार क्षेत्र पर्यटन, वन्यजन्तुको बासस्थान र जलाधार व्यवस्थापनका दृष्टिले महत्वपूर्ण भए पनि विभिन्न स्थानमा फोहर डम्पिङ, अव्यवस्थित उत्खनन र अन्य मानवीय गतिविधिका कारण संरक्षणमा चुनौती थपिएको बताउनुभयो । उहाँले बरन्डाभारको जङ्गल, राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रलाई आवश्यक पर्ने पानीको प्रमुख स्रोत खगेरी खोला नै भएकाले यसको स्वच्छता र प्राकृतिक अवस्था जोगाउनु अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “खगेरीले बरन्डाभारको जङ्गल, वन्यजन्तु र कृषियोग्य जमिनसम्म पानी पु¥याउने काम गर्दै आएको छ । त्यसैले यसको संरक्षण सबैको साझा जिम्मेवारी हो ।”
प्रमुख आचार्यले खगेरी जलाधारलाई संरक्षण गर्दै बरन्डाभारलाई वन विज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले यहाँका वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको अवलोकन गर्न पैदल यात्रा र जिप सफारीजस्ता पर्यापर्यटन गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो क्षेत्र पर्यटनदेखि अनुसन्धानसम्मका गतिविधिका लागि उपयुक्त छ । वन विज्ञानका विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ । ”
उहाँले कार्यलयमार्फत केही दिनपछि विस्तृत योजनासहित संरक्षण अभियान अघि बढाइने जानकारी दिनुभयो । त्यसका लागि खगेरी सिँचाइ जल उपभोक्ता समिति, बरन्डाभार उपभोक्ता समिति, बीसहजारी ताल व्यवस्थापन समिति, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागितामा छलफल गरी दीर्घकालीन संरक्षण, दिगो व्यवस्थापन, फोहर नियन्त्रण, जलाधार संरक्षण तथा सम्बन्धित निकायबीच समन्वय गरेर अभियान सञ्चालन गरिने बताउनुभयो ।






