चितवनः स्थापनाको १० औं वर्षमा प्रबेश गर्दै गर्दा कृषि तथा वन बिज्ञान विश्वबिद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरु थप गर्दै लगेको छ । कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रबाट स्नातक र स्नातकोत्तर तहमा तीन वटा थप कार्यक्रम संञ्चालन गर्ने तयारी गरिराखेको छ । विश्वबिद्यालयले स्नातक तहमा विएस्सी एग्री ईन्जीनियरीङ् र विएस्सी हर्टीकल्चर एबं स्नातकोत्तर तहमा एमएस्सी डेरी टेक्नोलोजी कार्यक्रम संञ्चालन गर्न लागेको हो ।
विश्वबिद्यालयका उपकुलपति प्रा. डा. ईश्वरी प्रसाद ढकालका अनुसार स्नातकको एग्री ईन्जीनियरीङ्का लागि रामपुरमानै सम्पूर्ण तयारी पुरा भईसकेको छ । हर्टीकल्चर रामपुरमा वा वाहिर कहाँ चलाउने भन्ने विषयमा छलफल चलिरहे पनि आउँदो शैक्षिक सत्रबाट कार्यक्रम चलाउने गरि तयारी भईरहेको छ । त्यसैगरी डेरी टेक्नोलोजिको पनि सबै तयारी पुरा भएको भन्दै उहाँले आउँदो शैक्षिक सत्रबाट कार्यक्रम संञ्चालन हुने बताउनु भयो ।
ती कार्यक्रमको पाठ्यक्रम तयार भई सकेका छन् । बि.सं. २०६७ असार ३ गते स्थापना भएको विश्वबिद्यालयमा हाल स्नातक, स्नातकोत्तर र बिद्यावारिधिमा कृषि, भेटेनरी, पशु विज्ञान, मत्स्य बिज्ञान र वनको पढाई हुँदै आएको छ । बिश्वबिद्यालयको केन्द्रिय क्याम्पस सहित ६ वटा आंगिक क्याम्पसहरु संञ्चालनमा रहेका छन् । कास्किको पुरनचौर, सिन्धुलीको कपिलाकोट, धनकुटाको पाख्रिबास, कैलालीको टिकापुर, महोत्तरीको वर्दिबासमा कृषि स्नातक र उदयपुरको कटारीमा वन स्नातकको पढाई हुँदै आएको छ ।
ढकालका अनुसार रोल्पाको माडीचौर र बाँकेको खजुरामा आउँदो शैक्षिक सत्रबाट आंगिक क्याम्पस संञ्चालन गरिदैं छ । ती दुबै ठाउँको जमिन विश्वबिद्यालयको नाममा आएर सबै तयारी पुरा भई सकेको छ । सुर्खेतमा वन र सर्लाहीमा कृषि स्नातकका लागि आबश्यक प्रकृया अघि वढेको ढकालले बताउनु भयो । हाल बिश्वबिद्यालयमा ९२ जना बिद्यावारीधि सहित ३ हजार ७ सय ७० जना बिद्यार्थीहरु अध्ययनरत छन् ।
विश्वबिद्यालयको दोस्रो उपकुलपति ढकालले आँफुले जिम्मेवारी सम्हाले पछि बिद्यार्थी तीन गुना थप भएको बताउनु भयो । उहाँको कार्यकाल केहि महिना मात्रै बाँकी छ ।