चितवनः जिल्लामा हुने दुर्घटनामा मोटरसाईकल वढि मात्रामा पर्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क हेर्नेहो भने बिगत पाँच वर्षमा भएका सवारी दुर्घटनामा वढि मात्रामा मोटरसाईकल रहेका छन् ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षका बैशाख सम्ममा भएका २ सय ५३ दुर्घटनामा ३ सय ९२ सवारी साधन परेका थिए । जहाँ १ सय ७८ वटा मोटरसाईकल रहेका थिए । सो समयमा ६५ वटा ट्रक÷टेंकर, ४६ वटा वस, ४५ वटा जिपकार, २५ वटा शारीरिक शक्तिवाट चल्ने साधन, १३ वटा ट्याङ्कर, ८ वटा टेम्पो, ६ वटा टिपर र ५ वटा माईक्रो रहेका छन् ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जिल्लामा भएका २ सय ७१ सवारी दुर्घटनामा ४ सय ९ वटा सवारी साधन परेका थिए । जसमा १ सय ७८ वटा मोटरसाईकल परेको पाईएको छ । सो समयमा ८३ वटा ट्रक, टेंकर, ५६ वटा वस, ५३ वटा जिपकार, २७ वटा शारीरिक शक्तिबाट चल्ने साधन, ११ वटा टेक्टर, ५ वटा टेम्पो र ३ वटाको सवारी खुल्न सकेको थिएन ।
यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा भएको २५८ सवारी दुर्घटनामा ३ सय ९० वटा सवारी साधन परेका थिए । जसमा १ सय ५९ वटा मोटरसाईकल रहेको कार्यालयले जनाएको छ । आर्थिक २०७२÷०७३ मा १५१ दुर्घटना भएका थिए । ती दुर्घटनामा २ सय ३० वटा सवारी साधन परेकोमा ८५ वटा मोटरसाईकल रहेका छन् ।
कार्यालयको तथ्याङ्कका आधारमा दुर्घटनामा पर्ने सवारी साधन संगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या हेर्नेहो भने पनि मोटरसाईकलका कारण धेरैको मृत्यु भएको छ । चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा सवारी दुर्घटनामा मृत्यु भएका १ सय २९ जना मध्ये ६५ जनाको मोटरसाईकलबाट भएका सवारी दुर्घटनाका कारण ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा भएका दुर्घटनामा परि निधन भएका मध्ये ५३ जना स्वयम मोटरसाईकलमा रहेका थिए । मोटरसाईकलले ठक्कर दिएर ९ जना पैदल यात्रीको मृत्यु भएको छ भने तीन जना साईकल यात्रीले मोटरसाईकलकै ठक्करबाट ज्यान जुमाएका छन् । कार्यालयले मोटरसाईकल आँफैमा मात्र होईन अरुका लागि पनि असुरक्षित सवारी देखिएको जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक चन्द्र कुमार गिरीका अनुसार अधिकांश मोटरसाइृकल अनियन्त्रीत भई दुर्घटना हुने गरेको छ । साँघुरो सडक, अत्याधिक सवारी चाप र तिब्र गतिका कारण दिनहुँ दुर्घटना हुने गरेको उहाँले बताउनु भयो ।
मोटरसाईकल दुर्घटनामा पर्नेहरु २० वर्ष देखि ४० वर्ष सम्मका रहेको गिरिले जानकारी दिनु भयो । ठाउँठाउँमा सवारी चेकजाँच, जनचेतनाका कार्यक्रमहरु संगै गति परिक्षणका लागि उपकरण मगाउने काम पनि भईरहेको उहाँको भनाई छ । कार्यालयले स्कुल कलेजहरुका बिद्यार्थीहरुलाई लक्षित गरि ट्राफिक जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !