चितवनः नेपाली काँग्रेस चितवनले आफ्नो जागरण अभियान अन्तर्गत आज जिल्लामा रहेका शहिद तथा प्रजातन्त्रका सेनानीहरुको परिवारलाई भेटघाट गरेको छ । काँग्रेसले सुरु गरेको एक महिने कार्यक्रम अन्तर्गत बिभिन्न समयमा भएका आन्दोलनका सहिद तथा प्रजातन्त्रका सेनानीहरुको परिवारलाई भेटघाट गरेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताउनु भयो ।
काँग्रेसले संञ्चालन गरेको बिभिन्न आन्दोलनमा शाहदत प्राप्त गर्नुहुने शहिदहरु ईमानसिंह गुरुङ्, लालध्वज गुरुङ्, हरि प्रसाद गुरुङ्, गणेश पौडेल, वेगानन्द गिरी लगाएतको परिवार संग भेट गरी उनिहरुको आर्थिक, राजनैतिक तथा पारिवारीक अबस्थाको विषयमा जानकारी लिईएको थियो । श्रेष्ठका अनुसार सोहि क्रममा प्रजातन्त्रका सेनानी गुणराज पाठक, गरुद्धत्त पौडेल, स्व. जमानसिंह गुरुङ्का परिवार संग पनि भेट गरिएको थियो ।
प्रजातन्त्रका सेनानीहरु संगको भेटका क्रममा देशको वर्तमान राजनैतिक अबस्था र काँग्रेसले खेल्नु पर्ने भूमिकाका बिषयमा छलफल भएको थियो । शहिद परिवार संगको भेटका क्रममा बोल्दै काँग्रेस चितवनका लागि केन्द्रय प्रतिनिधि सुरेन्द्र प्रसाद चौधरीले शहिदको सपनालाई काँग्रेसले नभूलेको बताउनु भयो । उनीहरुले देखाएको वाटोमा हिड्नका लागि काँग्रेस सधै लागि पर्ने उहाँको भनाई थियो । शहिदहरुको त्याग तपस्याले मात्र देशमा लोकतान्त्रीक गणतन्त्र आउन सफल भएको बताउँदै उहाँले शहिदका सपना पुरा गर्नका लागि काँग्रेसले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका पूर्ब सभापति एबं पूर्ब मन्त्री शेषनाथ अधिकारी, प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठ, चितवनका सचिब राजिव न्यौपाने, सहसचिब सुर्य अर्याल,प्रबक्ता निता ढकाल लगाएतको सहभागिता रहेको थियो ।
यसै बिच काँग्रेस चितवनले जागरण अभियानकै क्रममा भोलि तरुणदलको जिल्ला स्तरीय भेला, २२ गते किसान संघको जिल्ला स्तरीय भेला, २४ गते महिला संघको भेला र २५ गते भव्य कार्यक्रमका बिच समापन गर्ने कायतालिका सार्वजनिक गरेको छ ।