चितनवः ठूलो लगानी गरेर पढेका नर्सिङ्का बिद्यार्थीहरुले पढाई सके पछि कडा मिहिनेत, जोखिम र सम्बेदनशील काम गर्नुपर्ने भए पनि श्रमको मुल्य भने पाउन सकेका छैनन् । विदेशमा रोजगारीको राम्रो अवसर भए पनि नेपालमा वस्छु भन्नेहरुका लागि यो पेशा निकै चुनौतिपूर्ण वन्दै गएको छ ।
प्रमाणपत्र तह नर्सिङ् अध्ययनका लागि तीन वर्षको रु ४ लाख ७५ हजार क्याम्पसमा बुझाउनु पर्ने हुन्छ । यसका अतिरिक्त किताव, कापी, परिक्षा, होस्टल, प्रयोगात्मक कक्षाहरु लगाएतको खर्च हेर्दा रु ७ लाख कट्ने गर्दछ । यस्तै नर्सिङ् स्नातक (बिएन)को क्याम्पस शुल्क रु ६ लाख ५० हजार हाराहारी रहेको छ भने बिएससि नर्सिङ्को रु ११ लाख ९० हजार पूर्बाञ्चल बिश्व बिद्यालयमा सम्बन्धन पाएका क्याम्पसहरुले लिदैं आएका छन् ।
त्रिभूवन संगै अन्य बिश्व बिद्यालय संग सम्बन्धन लिएर पढाउने क्याम्पसहरुले त्यो भन्दा वढि फरक फरक शुल्क लिने गरेका छन् । तर तीनै क्याम्पसहरुबाट अध्ययन गरेका बिद्यार्थीहरुले नेपालमा पाउने जागिरको अबस्था भने दयानीय रहेको छ । नेपाल नर्सिङ् संघ चितवनका अध्यक्ष मायाँ पाण्डे नर्सहरुको कामको चुनौति वढि भए पनि न्यून पारिश्रमीकमा काम गर्नु पर्ने बाध्यता रहेको बताउनु हुन्छ ।
यहाँ चलेका अस्पताल र मेडीकल कलेजहरुले रु १४ हजार देखि १७ हजार सम्म पारिश्रमीक दिन गरेको भए पनि अन्यमा पारिश्रमीक न्यून रहेको उहाँले बताउनु भयो । जिल्लाका कतिपय अस्पताल, पोलिक्लिनिक, क्लिनिक लगाएतले रु ६÷७ हजार सम्ममा काम लगाउने गरेको पाईएको छ । राम्रा अस्पतालहरुमा अवसर नपाउँदा कतिपय नर्सिङ् अध्ययन गरेकाहरु निरास हुने गरेको स्वयम उनीहरु बताउँछन् ।
भरतपुरमा रहेको एक नर्सिङ् कलेजमा प्रमाणपत्र तहका बिद्यार्थीहरुलाई पढाउँने शिक्षिकाले मासिक रु १८ हजारमानै काम गर्नु परेको गुनासो गर्नु भयो । नाम नलेख्दीन आग्रह गर्दै उहाँले अन्य कलेजहरुको अबस्था पनि उस्तै उस्तै रहेको बताउनु भयो । विएन उत्तीण गरेर रु १८ हजारमा जागिर खानु पर्छ अरु अवस्था के सोध्नुहुन्छ उहाँको प्रश्न थियो । स्नातक पढेर कार्यालय सहयोगि सरह पारिश्रमीक लिन वाध्य भएको नर्सिङ् पढाउनेहरुको गुनासो छ ।
भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेल सन २०३० मा चाहिने नर्सिङ् अहिलेनै उत्पादन भई सकेकाले समस्या उत्पन्न भएको वताउनु हुन्छ । अस्पतालमा एक सय ५० भन्दा वढिले जागिरको माग गरि आवेदन दिएको र दैनिक जसो नयाँले निवेदन पेश गर्ने गरेको उहाँले बताउनु भयो ।
निजिमा रु. ६÷७ हजार देखिनै काम गर्नु पर्ने बाध्यता भएकाले सरकारीमा आकर्षण वढि भए पनि अवसर थोरैले पाउने गरेको उहाँले बताउनु भयो । चितवनमा मात्र ११ वटा नर्सिङ् क्याम्पस रहेका छन् । छिमेकी जिल्ला नवलपुरको गैंडाकोटमा एउटा नर्सिङ् कलेज रहेको छ । ती क्याम्पसहरुले ४० जनाका दरले प्रबिणता प्रमाणपत्र तह पढाउँदै आएका छन् ।
प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटि)बाट सम्बन्धन लिएका क्याम्पसहरुको साझा संस्था फोरम फर हेल्थ साईन्स चितवनका अध्यक्ष ध्रुर्व काफ्लेले नर्सिङ्लाई रोजगारीको अबसर वढ्दो रहेको बताउनु भयो । हालको पारिश्रमीक केहि कम भए पनि अव हरेक स्कुलमा नर्सिङ् शिक्षक राखिने भएकाले अवसरहरु वढेको उहाँको दाबि छ ।
नर्सिङ् पेशामा जानेहरु अध्ययनमा ठूलो धनराशि खर्च गर्न बाध्य छन् भने काममा लागे पछि न्यून शुल्कमा निकै जोखिम पूर्ण काम कडा मिहिनेतका साथ गर्न बाध्य भएका छन् । यध्यपी बैदेशीक रोजगारीको अबसरका कारण पढ्ने बिद्यार्थीको आकर्षण भने घटि सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !