चितवन, १६ भदौंः

जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ८९ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको छ । साउन यता अस्पतालमा आएका बिरामी मध्ये १ हजार ८०१ जनाको नमुना परिक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो ।
संक्रमित मध्ये भरतपुर महानगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका १७ जना, माडी नगरपालिका एक जनामा यो रोगको संक्रमण देखिएको छ । यस्तै रत्ननगर नगरपालिकाका २४ जना, राप्ती नगरपालिकाका ७ जना, कालिका नगरपालिकाका १२ जना र इच्छाकामनाका ३ जना रहेको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये २२ जना जिल्ला बाहिरका रहेका छन् ।
स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिले काहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस !