चितवनः संयुक्त एम्बुलेन्स चालक संघ नेपालले आफ्ना माग पूरा गर्न आग्रह गर्दै प्रमुख दलहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघका अध्यक्ष नवराज लामिछानेको नेतृत्वमा दलका प्रमुख एवं जिम्मेवार अधिकारी र राष्ट्रिय सभा अध्यक्षलाई ध्यानाकर्षण गराएको हो ।

टोलीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता शेखर कोइराला र उपसभापति धनराज गुरुङ, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झालाई ध्यानाकर्षणपत्र बुझाएको हो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई भेट गरी आफ्नो माग पूरा गराउन आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।

संघले यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएको थियो । यससँगै देशका अधिकांश जिल्ला प्रशासन कार्यालय मार्फत् स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो । संघले स्वास्थ्य ऐन २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नविकरण गर्न दिनु पर्ने लगायतका माग गरेको छ ।

यसैगरी एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनु पर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने संघको माग छ । देशभर ६ हजार एम्बुलेन्स रहेका छन् । ती मध्ये ८० प्रतिशत ऐनका कारण नविकरण हुन नसकेको उहाँले बताउनुभयो । सरकारले आफूहरुका माग पूरा गर्नेमा विश्वस्त रहेको लामिछानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !