चितवनः सौराहाको युनिक वाइल्ड रिसोटमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै संञ्चालक गुणराज थपलियाले खुशि व्यक्त गर्नुभयो । गत बर्षहरुमा यतिवेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दशैभरको सुनसान पछि पर्यटक आउन थाले संगै होटल व्यवसायीहरुमा केही उत्साहा थपिएको छ ।
यहाँको अत्यन्तै राम्रो पर्यटकीय मौषममा राजनैतिक परिवर्तन र ठाउँ–ठाउँको पहिरोका कारण पर्यटकहरुले बुकिङ् रद्द गरेपछि व्यवसायीहरु निरास भएका थिए । क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष समेत रहनु भएका थपलियाले मंगलबारबाट आन्तरिक र वाह्य पर्यटक आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो “दशैंको समयमा ५ प्रतिशत हाराहारी मात्र पर्यटक भएकोमा हिजोबाट राम्रो वढ्दै गएको छ ।” आजको अबस्था हेर्दै गर्दा ३० प्रतिशत हाराहारी पर्यटक पुगेको उहाँको भनाई छ । गत वर्ष यो समयमा सौराहामा ८० प्रतिशत हाराहारी पर्यटक पुग्ने गर्दथ्यो ।
क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेले आफ्नो होटल ल्याण्डमार्क सहित होटलहरुमा पर्यटक आउन थालेको बताउनुभयो । जेन–जी आन्दोलन अघि नेपाल आएका पर्यटकहरु सडक राम्रो भए संगै सौराहा आउन थालेको उहाँ बताउनुहुन्छ । नेपालीहरु न्यून भए पनि बिदेशीहरु वढ्दो छ । उहाँले भन्नुभयो “बुकिङ् राम्रो नभए पनि सोझै आउनेहरु वढ्न थालेका छन् ।” साह्रै न्यून पर्यटक रहेकोमा केही आउन थालेपछि आँफुहरुमा आशा जगाएको पाण्डे बताउनुहुन्छ ।
जंगल सफारी लजका संञ्चालक सुमन घिमिरे क्रमशः पर्यटक आउन थालेको बताउनुहुन्छ । तिहार संगै स्वदेशी पर्यटकको संख्या वढ्ने उहाँको अनुमान छ । उहाँले भन्नुभयो “आन्तरिक तथा बाह्य पर्यटक क्रमश वढ्ने हामीले अपेक्षा गरेका छौ ।” निकुञ्ज भित्रको जंगल सफारी समेत खुलेकाले यहाँ आउने पर्यटक वढेको उहाँले बताउनुभयो । चितवन आउन चाहाने पर्यटकका लागि सबै तिरका सडक सञ्जाल राम्रो भएको भन्दै उहाँले बिदाको दिनहरुमा पर्यटकको आगमन वढ्ने बताउनुभयो ।
होटल भिष्टाका संञ्चालक रमेश शिलवालआज मात्रै १४ जना टेलिफोन गरेर सौराहा आउँदै गरेको बताउनुहुन्छ । बिभिन्न माध्यमबाट बुझ्ने क्रम सुरु भएकाले अब पर्यटक वढ्नेमा आफु बिश्वस्त रहेको उहाँको भनाई छ ।
सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडा रेष्टूरेन्टहरुमा पर्यटकको आगमन वढेको बताउनुहुन्छ । हात्ती सफारी गर्नेहरु पनि क्रमश वढ्दै गएको उहाँको भनाई छ । गत सालहरुमा दशैंका समयमा हात्ती चढ्नेहरुका लागि पु¥याउन मुस्किल हुने गरेको भए पनि यस वर्ष दशैंभर सुनसान अबस्थामा रहेको उहाँले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक बस्नका लागि सौराहा आउने गर्दछन् । उनीहरु निकुञ्ज र सामुदायीक वनमा सफारी गर्ने गर्दछन् । दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, पाटे बाघ लगाएतका जनावार हेर्न उनीहरु रुचाउँछन् । यो निकुञ्ज सफारीका लागि विश्वमानै परिचित छ ।








