चितवन । यहाँको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका दैनिक एक हजार ५०० हाराहारी बिरामी प्रथम विन्दुबाट आउने गर्दछन् । तीमध्ये ५०० हाराहारी दीर्घरोगका बिरामी औषधि लिन आउँछन् ।
भरतपुर अस्पतालमा मधुमेह, मुटु, उच्च रक्तचाप जस्ता दीर्घरोगका नियमित औषधि सेवन गर्नेहरु ५०० हाराहारी आउँछन् । ती अधिकांश भरतपुरको मुख्य सहरी क्षेत्रका ज्येष्ठ नागरिक हुन् । भरतपुर अस्पतालमा चितवन जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका नागरिक प्रथम विन्दुका रुपमा राखेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोरखा, धादिङ, मकवानपुरलगायतका जिल्लाका विभिन्न पालिकाका नागरिकले भरतपुर अस्पताललाई बिमाको पहिलो विन्दु बनाएको पौडेलले बताउनुभयो । सेवाको पहिलो विन्दु हटेसँगै सेवा पाइरहेका प्रभावित हुने पौडेलको भनाई छ । भरतपुर अस्पताल स्वास्थ्य बिमा बोर्डमा सेवा दिने देशभरकै उत्कृष्ट अस्पताल हो । यहाँ बिमाका बिरामीलाई लक्षित गरी विभिन्न काउन्टर बिहान सबेरैदेखि सञ्चालन गरी सेवा दिँदै आएको छ ।
भरतपुर आँखा अस्पताल पनि प्रथम सेवा विन्दुबाट हट्ने भएको छ । यससँगै आँखाको उपचार गर्न आउने बिरामीहरु प्रभावित हुने भएका छन् । जिल्लाका विभिन्न अस्पतालमा प्रथम सेवा विन्दु भएका बिरामीले आँखा अस्पतालमा रिफरल नलगिकन प्रथम सेवा विन्दुको हैसियतमा सेवा दिँदै आएको छ । अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीका अनुसार दैनिक ४०० बिरामी बिमामार्फत उपचार गर्न यहाँ आउने गर्दछन् । बाहिरी जिल्लाबाट रिफरल भएर आउने बिरामीको सङ्ख्या न्यून छ ।
बोर्डले भरतपुरका लागि तोकेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र पूर्वाधार छैन । कार्यालयका प्रमुख भविश्वर अधिकारी भरतपुर अस्पतालमा आउने बिरामी शिवनगर आउने हो भने व्यवस्थापन गर्न नसकिने बताउनुहुन्छ । उहाँका अनुसार अहिले केन्द्रमा दैनिक २५० देखि ३०० सम्म बिरामी आउने गर्दछन् । केन्द्रमा हाल दुई जना मेडिकल अधिकृतले सेवा दिँदै आउनु भएको छ । साउन १ गतेदेखि थप दुई जनालाई नियुक्ति दिने तयारी गरिएको उहाँले बताउनुभयो ।
अधिकारीले भन्नुभयो, “अहिले आइरहेका बिरामीलाई नै व्यवस्थापन गर्न नसकेर थप दुई जना मेडिकल अधिकृत नियुक्त गर्न लागिएको छ, बिरामी थपिए सेवा दिन कठिन छ ।” प्रथम सेवा विन्दुमा आएका बिरामी यहाँको सेवा दिएर मात्रै थप सेवा चाहिने भएमा मात्रै रिफर गर्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक जनशक्ति र पूर्वाधार नहुने भएकाले बिमाका सेवाग्राही प्रभावित हुने देखिएको छ ।
भरतपुरमा ठूला अस्पताल भएकाले स्थानीय तहहरुमा बिरामीको चाप कम हुँदा अस्पतालको जनशक्ति र पूर्वाधार त्यति मजबुत छैन । प्रथम सेवा विन्दुका लागि छिमेकी पालिकाहरुमा रहेका अस्पतालमा जान सक्ने भए पनि व्यवहारिक र सुविधाजनक नहुने सेवाग्राहीको गुनासो छ ।






