चितवनः इच्छाकामना गाउँपालिकाका चेपाङ्ग समुदायलाई तीन हजार चिउरीका बिरुवा बितरण गरिएको छ । गाउँपालिकाले चेपाङ्ग समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम अन्तर्गत विरुवा वितरण गरेको हो ।
गाउँपालिकाको कृषि शाखाकी अधिकृत समिक्षा पौडेलका अनुसार वडा नम्बर १,२ र ६ का चेपाङ्ग समुदायलाई चिउरीको बिरुवा बितरण गरिएको हो । चिउरीको क्षेत्र बिस्तार अन्तर्गत ती बिरुवा वितरण गरिएको हो । चेपाङ्ग समुदायको जीविको पाजर्नका लागि चिउरीका बिरुवा बितरण गरीएको उहाँले जानकारी दिनुभयो । चिउरीको फल, चिउरीबाट घ्यू , तेल, पिना, चोपबाट लिसो, माछा मार्ने किटनासक औषधि, दुना–टपरी, डाले घाँस लगाएतमा प्रयोग गर्न सकिने भएकाले यसलाई संरक्षण गर्न विरुवा वितरण गरिएको हो । प्रत्येक वडामा एक हजारका दरले विरुवा वितरण गरिएको हो ।
चेपाङ्ग समुदायमा प्रम्परागत रुपमा छोरीको विहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाईजो दिने गरेको पाइन्छ । चिउरीलाई प्रोटीनयुक्त खाध्य स्रोतको रुपमा लिने गरिन्छ । चिउरीको प्रागसेचनका लागि साकाहारी चमेरो आबश्यक पर्ने उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले चिउरीको बिरुवा गणना गरेको थियो । गणनाका क्रममा ३ हजार ४७१ वटा बोट रहेको पाईएको थियो । सो वर्ष पाँच सयवटा बिरुवा वितरण गरिएको थियो । चिउरीको संरक्षणका लागि मौरी घार समेत वितरण गरिएको छ । चेपाङ्ग समुदायका ९२ घरधुरीलाई मौरीको घार समेत बितरण गरिएको उहाँले बताउनुभयो ।
चिउरी संरक्षण संगै साकाहारी चमेरो समेत संरक्षणमा मद्धत पुग्ने उहाँले बताउनुभयो । चेपाङ्ग समुदायमा मासुको रुपमा प्रयोग हुने चमेरोको संरक्षण गर्दा यस समुदायको आयआर्जनमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो । चमेरो व्यवसायीक रुपमा मासु र बिक्रि गर्ने प्रचलन अन्त्य गर्न यस कार्यक्रमले टेवा पुग्ने पौडेलले बताउनुभयो ।
एक वर्षमा एउटा मात्र सन्तान उत्पादन गर्ने चमेरो पछिल्लो समय संकटमा परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “चमेरोको वढ्दो व्यवसायीकीकरण भयो । यसलाई संरक्षण गर्न गाउँपालिका लागेको छ ।”






