नारायणगढ (चितवन), २ असारः भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा आज नारायणगढमा बृहत् योग शिविर आयोजना गरिएको छ। ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नारायणी किनारमा आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न संघ–संस्था तथा सरकारी कार्यालयहरूबाट उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा भरतपुर महानगरपालिका उप–प्रमुख चित्रसेन अधिकारीले नेपाल–भारत मैत्री सम्बन्धलाई योगमार्फत थप सुमधुर बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। नागरिकको स्वास्थ्य सुदृढ रहोस् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविर अत्यन्त महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। “दूतावासबाट गरिएको यो कार्यक्रमले पारस्परिक सम्बन्ध मात्र नभई हाम्रो शरीर र मानसिकतालाई पनि स्वस्थ राख्ने काम गर्छ,” उहाँले भन्नुभयो।

भारतको महावाणिज्य दूतावास वीरगञ्जका कन्सुल देवी सहाय मिणाले संयुक्त राष्ट्रसंघले भारतको पहलमा सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेपछि हरेक वर्ष विश्वभर उक्त दिवस मनाउने गरिएको जानकारी दिनुभयो। उहाँले योगले शारीरिक र मानसिक स्वास्थ्यसँगै जिम्मेवार जीवनशैलीप्रति मानिसलाई सजग बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

“नेपाल र भारत सांस्कृतिक तथा धार्मिक रूपमा गहिरो सम्बन्धमा आबद्ध छन्। दुबै देशको साझा सांस्कृतिक र धार्मिक सामाजिक विरासत रहेको छ,” मिणाले भन्नुभयो, “योग प्राचीन परम्पराको एक अमूल्य उपहार हो, जसको अर्थ नै जोड्ने हो र यसले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउँछ। ”

यस वर्षको योग दिवसले व्यक्तिगत स्वास्थ्यसँगै पृथ्वी संरक्षणमा योगको भूमिकालाई उजागर गर्ने उद्देश्य लिएको छ। महावाणिज्य दूतावासले ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालका विभिन्न जिल्लामा “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने नारासहित विविध कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइएको छ। आजको योग शिविरमा योग प्रशिक्षक अस्मिता पाण्डेले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमलाई उद्योग वाणिज्य संघ चितवन, नेपाल भारत मैत्री संघ चितवन, पतन्जली योग समिति र आर्ट अफ लिभिङ चितवनको सहयोग रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !