
चितव, २० जेठ ः पवित्र धार्मिक स्थल देवघाटधामबाट कालीगण्डकी किनारहुँदै दामोदरकुण्डसम्म पुग्नेगरी ऐतिहासिक कालीगण्डकी पदयात्रा गरिने भएको छ । देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा यही जेठ २२ गतेखि शालिग्राम करिडोरको ४ सय ३१ किलोमिटर दुरीको पदयात्रा गरिने भएको हो
जनस्तरमा गण्डकीको बहुविध महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर पवित्र कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण र संवर्धनमा टेवा पुर्याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताहरूको अगुवाइमा देवघाटधामबाट दामोदरकुण्डसम्म पुग्ने गरी ऐतिहासिक कालीगण्डकी पदयात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।
महेश संस्कृत गुरुकुलका प्राचार्य एवं पदयात्राका संयोजक फणीन्द्र प्रसाद पौडेलका अनुसार २ सय २० मिटर सामुद्रिक सतहदेखि ४ हजार ९ सय ९० मिटरसम्मको उचाइको यात्रा २२ देखि २५ दिन समय लगायर गरिनेछ । कालीगण्डकीको बहुविध महत्व र उपयोगिताको प्रचार–प्रसार शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन,कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवर्धन,आध्यात्मिक साधनाको निरन्तरता दिने उद्देश्यले पदयात्रा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
संयोजक पौडेलले पदयात्राको व्रतधारण गरेका ६० देखि ६५ जना साधु–सन्त र अभियन्ताहरूले विधिवत् पूर्ण पदयात्रा गर्ने बताउनुभयो । उहाँले कालीगण्डकी किनारका श्रद्धालुहरूलाई आ–आफ्ना क्षेत्रमा यथाशक्य सहभागी हुन अनुरोध गर्नुभयो । पदयात्राका क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम–ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम– दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरण सभा हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजनहरु मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ ।” पदयात्राको क्रममा स्थानीय क्षेत्र गाउँ÷नगर÷वडा÷टोलमा आइपुग्दा व्यक्तिगत तथा सामूहिकरूपमा आवश्यक जलपान, भोजन प्रसाद र आवासको सहयोगका साथ आफ्ना सांस्कृतिक प्रस्तुतिसहित सहभागी हुनको लागि अनुरोध गरिएको पौडेलले बताउनुभयो ।
महेश संस्कृत विद्यापीठका अध्यापक सन्तोष गिरीले पदयात्राका क्रममा २ प्रदेश ९ जिल्ला १० नगरपालिका २० गाउँपालिका र १४९ वडा जोडिने बताउनुभयो । उहाँले पदयात्रीका लागि चाहिने बन्दोवस्तीका समाग्री गाडी पुग्ने स्थानसम्म गाडीमा लैजाने जानकारी दिनुभयो । यात्रामा दैनिक ८ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने उहाँले बताउनुभयो ।
कालीगण्डकी नदी र दुर्लभ शालग्रामशिलाको बहुविध महत्व उपयोगिताको प्रचार–प्रसार गरेर पवित्र जलसम्पदा र सभ्यताको संरक्षण र संवर्धन गर्न नेपाल तथा भारतका मुख्य पीठ एवं आश्रमका पूज्य सन्तहरूको आह्वान र सहभागितामा आयोजित पदयात्रा कार्यक्रमलाई सम्पन्न गर्न आ–आफ्नो तहबाट सहयोग गर्न आयोजकको अनुरोध छ ।